काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएका छन् ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताए ।
निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआउनु धाँधली भएको स्पष्ट प्रमाण भएको बताउंदै ओलीले भने–‘निर्वाचन स्वच्छ हुन सकेन, विपक्षी दलका उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर सत्तापक्षले निर्वाचन गरायो । विपक्षी उम्मेदवारका घरमा बम पड्काइयो । बमलाई अपजस लगाएर भत्किएको हो ? कि बम आफैं आएर घर भत्कियो ? प्रहरी निरीह हेरेर बसेको छ । तै पनि सरकार निष्पक्षरुपमा निर्वाचन भयो भन्छ । यसलाई निष्पक्ष निर्वाचन भन्न मिल्छ ?’
विभिन्न जिल्लामा मतदाताको हत्या भएको र त्यो हत्या गठबन्धनका कार्यकर्ताबाट भएको ओलीले आरोप लगाए ।
स्वार्थलाई केन्द्रभागमा राखेर लोकतन्त्रको धज्जी उडाइएको टिप्पणि गर्दै ओलीले आफूले २०१५ सालदेखि निर्वाचन हेरिरहेको भन्दै यस्तो निर्वाचन पञ्चायतकालमा पनि नभएको बताए ।
उनले प्रतिपक्षी दलका कारण एक ठाउँमा पनि मतदान स्थगित नभएको दाबी गरे । उनले भने–‘गठबन्धनको घोषित नीति नै थियो । हामीलाई धुलो चटाइदिने, पत्तासाफ गराइदिने । निर्वाचनका क्रममा त्यही प्रकट भएको छ । एउटा ठाउँमा प्रतिपक्षका कारणले स्थगित भएको थिएन । सत्तामा बसिसकेपछि त सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन गर्नुपर्छ । जसरी पनि जित्नुपर्छ भनेर गीत नै गाइएको थियो ।’