रामकुमार श्रेष्ठ
नवलपरासी, १६ माघ । पश्चिम नवलपरासीको बर्दघाट १६ अवस्थित दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा शनिबार एक मृत पाटे बाघ फेला परेको छ । विहानको समयमा गाउँलेहरु जंगल गएका बेला गोली लागेको मृत अवस्थामा पोथी बाघ देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए ।
साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १ सय ५० किलोको बयस्क पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको सरावल सब डिभिजन वन कार्यालय बर्दघाटले जनाएको छ ।
मृत अवस्थामा फेला पवरेको सो बाघलाई सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीहरुले बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाट पुराएका छन् । मृत बाघको प्रकृति हेर्दा वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुले पासोमा पारी गोली हानी हत्या गरेको हुन सक्ने वन कार्यालय बर्दघाटका प्रमुख गिरिराज पन्तले बताउनु भयो । उहांका अनुसार घटनाको थप अनुसन्धान समेत भइरहेको छ ।
मृत बाघलाई वन ऐन तथा कानुनी प्रकृया पुरा गरी सुरक्षाकर्मी, जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा ईलाका वन कार्यालयकै परिसरमा गाडिएको डिभिजन प्रमुख पन्तले जानकारी दिनुभयो ।