१९ सिटमा १८ जना सत्ता गठबन्धन एक जना एमाले
बुटवल, १२ माघ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्बाचनमा सत्ता गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । बुधबार राष्ट्रिय सभा सदस्य तीन पदका लागि दाङमा भएको निर्वाचनमा सत्ता गठबन्धनका तिनै जना उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचनको अन्तिम मत परिणाम अनुसार सत्ता गठबन्धनबाट खुल्ला सदस्यमा उम्मेदवार बनेका नेपाली काँग्रेसका युवराज शर्मा (बाँके), महिला सदस्यमा नेकपा एकिकृत समाजवादिकी राजेन्द्रलक्ष्मी गैह्रे (पाल्पा) र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा (रुपन्देही) निर्वाचित हुनुभएको हो । नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका दाङका रामदयाल गुप्ता, बाँकेका भारती खनाल उपाध्याय र गुल्मीका कृष्णबहादुर सुनार पराजित हुनुभएको छ ।
निर्वाचनको अन्तिम मत परिणाम अनुसार नेपाली काँग्रेसका शर्माले ४ हजार ३४४ मतभार ल्याइ विजयी हुँदा उहांका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामदयाल गुप्ताले ३ हजार ३७८ मतभार प्राप्त गर्नुभएको छ । यस्तै महिला तर्फ नेकपा एकिकृत समाजवादिकी गैह्रेले ४ हजार ३७४ मतभार ल्याइ बिजयी हुँदा प्रतिद्वन्दी एमालेकी भारती खनालले ३ हजार ३१२ मतभार प्राप्त गर्नुभएको छ । यसैगरी दलित तर्फ राष्ट्रिय जनमोर्चाका विश्वकर्माले ४ हजार ३५६ मतभार ल्याइ विजयी हुँदा उहांका प्रतिद्वन्दि एमालेका कृष्णबहादुर सुनारले ३ हजार ३४८ मतभार प्राप्त गरी पराजित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा २९४ मत खसेको थियो । कुल मतदाता संख्या प्रदेश सभा तर्फका ८१ जना सांसद र स्थानीय तह तर्फका प्रमुख÷उप प्रमुख २१५ जना सहित २९६ जनाले मतदान गरेका थिए । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ कायम गरिएको थियो । आज बिहान ९ बजे सुरु भएको निर्वाचन ३ बजे सकिएको थियो ।
प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख गेहेन्द्र कुँवरका अनुसार प्रदेशसभा तर्फको सत प्रतिशत अर्थात ८१ मत खसेको थियो भने स्थानीय तहतर्फका दुइ जनाले मतदानमा भाग लिएनन् । १०९ वटा स्थानीय तहका २१५ प्रमुख÷उपप्रमुख मध्ये २१३ जनाले मतदान गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा र रुपन्देहीको रोहिणी गाँउपालिकाका उपाध्यक्ष शिवकान्ति चमारले निर्वाचनमा भाग लिएनन् । राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा निर्वाचनमा भाग नलिने निर्णय गरेकाले सोही अनुरुप दुइ जना जनप्रतिनिधि मतदानमा सरिक नभएको जनाएको छ ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधिनित्व गर्ने कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेकाले यो निर्वाचन भएको हो ।
राष्ट्रिय सभामा लुम्बिनीबाट बिजयी भएका बाँकेका युवराज शर्मा पार्टी सभापति शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा उपसभापति बन्नुभएको थियो । नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि शर्मा यस अघि पार्टीको बाँके जिल्ला सभापति समेत भइसक्नु भएको छ ।
यस्तै राष्ट्रिय सभामा बिजयी पाल्पाकी राज्यलक्ष्मी गैह्रे नेकपा एकिकृत समाजवादिकी केन्द्रिय सदस्य सहित पार्टीको महिला संघको केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी इन्चार्ज हुनुहुन्छ । २०३९ सालमा अनेरास्ववियुको जिल्ला कमिटि सदस्य बनेर राजनीतिमा लाग्नुभएकी गैह्रे एमाले बिभाजन हुँदा नेकपा एकिकृत समाजवादीमा लाग्नुभएको थियो ।
यसैगरी राष्ट्रिय सभामा बिजयी रुपन्देहीका तुलप्रसाद विश्वकर्मा राष्ट्रिय जनमोर्चाको केन्द्रिय सदस्य हुनुहुन्छ । कलाकार समेत रहेका विश्वकर्मा २०३५ सालदेखि पार्टीमा सक्रिय हुनुहुन्छ ।
आज सातै प्रदेशमा १९ सीटका लागि राष्ट्रियसभाको निर्वाचन भएको हो । १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने एक सिटमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । उनको जितलाई अप्रत्याशित विजयका रुपमा लिईएको छ । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुवैतिर क्रस भोटिङ भएको छ ।
क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राईलाई पराजित गरी नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । यस्तै गठबन्धनमा अन्तरघात भएका कारण नेपाली काँग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आएपछि गोला प्रथा हुंदा काँग्रेसका उम्मेदवार गोपाल बस्नेतले एमाले नेता बराललाई पराजित गर्नुभयो । प्रदेश एक बाहेक अन्य सबै प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।