रामकुमार श्रेष्ठ
नवलपुर, ६ पुस । पूर्वी नवलपरासीमा १२ बर्ष पुरा भई १८ बर्ष नपुगेका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
यहाँका बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनु भयो ।
उहांका अनुसार नवलपुरमा ४५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । नवलपुरमा बालबालिकालाई मोडर्ना खोप लगाइएको छ । नवलपुरमा साढे ४५ हजार डोज खोप प्राप्त भएको र पहिलो डोज खोप लगाएको १ महिना भित्रै अर्को डोज खोप लगाउने तयारी गरिएको उहांले बताउनु भयो ।
नवलपुरमा पुस ४ गतेबाट कावासोती नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाले बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन शुरु गरेको नवलपुरका स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले बताउनु भयो ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाले पनि आजबाट बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन शुरु गरेका छन् ।
त्यसैगरी गैडाकोट नगरपालिका, बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाले पनि केही दिनमै खोप लगाउने गरी तयारी गरेको चापागाईले बताउनु भयो ।
१२ बर्ष पुरा गरी १८ बर्ष नपुगेका एउटै विद्यालयमा २ सय बढी विद्यार्थीहरु रहेको विद्यालयमा सोही विद्यालयमा गएर र संख्या कम भएको विद्यालयको हकमा नजिकैको विद्यालयमा खोप लगाउने ब्यवस्था मिलाईएको छ ।
उहांका अनुसार नवलपुरमा मंगलबारसम्म ५ हजार बढी बालबालिकाले खोप लगाइसकेका छन् ।