रुपन्देहीमा ५ बर्षमा ३५४ जनाले गरे बिषादीबाट आत्महत्या
भैरहवा, १२ मंसिर । रुपन्देही जिल्लामा वितेका ५ बर्षमा ३५४ जनाले बिषादीबाट आत्महत्या गरेका छन् । चालु आर्थिक बर्षको ४ महिनामा बिषादीबाट आत्महत्या गर्ने १४ जना मध्ये ७ जनाले सेल्फास नामक बिषादी प्रयोग गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याँकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जिल्ला प्रहरी कार्यालयमा आयोजना गरेको आत्महत्या न्यूनीकरण कार्ययोजना (थ्री सर्कल) कार्यान्वयन तथा किटनाषक बिषादीको प्रयोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रहरी उपरीक्षक मनोज कुमार के. सी. ले यो तथ्याँक सार्वजनिक गर्नुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा रुपन्देही जिल्लामा आत्महत्यामा सबै भन्दा बढी प्रयोग हुने गरेको सेल्फास नामक अल्मुनियन फस्फेट (५६ प्रतिसत) ३ ग्राम ट्यावलेटको बिक्री बितरण र प्रयोग पूर्णत निषेध गर्ने निर्णय भएको छ । भण्डारण वा प्रयोगमा रहेको प्रतिबन्धित सेल्फास नामक अल्मुनियन फस्फेट स्थानीय तह संग समन्वय गरी नेपाल प्रहरीको स्थानीय ईकाईले सुरक्षित रुपमा नष्ट गर्ने समेत निर्णय भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा रुपन्देही जिल्ला स्थित मानसिक रोग संग सम्बन्धित बिशेषज्ञ चिकित्सकहरु, क्वारेन्टाइन कार्यालयका प्रमुख, स्थानीय तह कृषि शाखा प्रमुख, एग्रोभेट संचालक, बिषादी बिक्री बितरण गर्ने पसल संचालकहरु र सरोकारवालाहरु गरी १७२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा देवदह मेडिकल कलेजका सह–प्राध्यापक डा.मनोज ढुङ्गाना, प्लान्ट क्वारेन्टाईन कार्यालयका प्रमुख कुलदिप घिमिरे, क्रिमशन हस्पिटल मणिग्रामका डा.सन्दिप बर्मा, पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.भक्त निउरे र कृषि निर्देशनालय बुटवलका अधिकृत अनिल बानियालगायतले बिषादीमा बिक्री वितरण नियमन र सेल्फासको नियन्त्रणबाट आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने धारणा राख्नुभएको थियो ।