सभापतिमा रामकृष्ण खाँण र उपसभापतिमा शाह र घिमिरे
बुटवल । नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट दुई कार्यकाल जिल्ला सचिवको जिम्मेवारी बहन गर्नुभएका रामकृष्ण खाँण जिल्ला सभापतिमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अधिबेशनबाट जिल्ला उपसभापतिमा डा. अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे, सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई, तथा सहसचिवमा बिष्णु थापा र बासुदेव रिमाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सार्वजनिक लेखा समिति सभापति भरत शाह, संस्थापन इतर पक्षका नेता पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रतिनिधिसभा सांसद प्रमोद यादव, प्रदेश सांसद अष्भुजा पाठक, निवर्तमान जिल्ला सभापति अब्दुल रज्जाक लगायतको सक्रियतामा शुक्रबार जिल्लाको नेतृत्व सर्बसम्मत गराउने सहमति भएको थियो । गृहमन्त्री सहित पार्टीका नेताहरुको सक्रियतामा पदाधिकारी सहित सबै पदमा सहमति भई सर्वसम्मत नेतृत्व चयन भएको हो । सहमति अनुसार सभापति, एक सचिव र एक सहसचिव संस्थापन(देउवा) पक्षबाट राखिएको छ । उपसभापतिमा सार्वजनिक लेखा समितिका सभापति भरत शाहकी पत्नी डा. अनिता ढुंगाना शाहलाई राखिएको छ । एक उपसभापति, सचिव र सहसचिव संस्थापन इतर पक्षबाट राखिएको छ । जिल्ला कार्यसमितिका अन्य सदस्यहरु पनि सहमति अनुसार तिनै पक्षले भागवण्डा गरेका छन् ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनको घोषणा सभालाइ भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री खाँणले काँग्रेसका आम कार्यकर्तालाइ साझा नेतृत्वको महशुस गराउँदै पार्टीलाइ थप गतिशिल बनाउन नवनिर्वाचित नेतृत्वलाइ निर्देशन दिनुभयो । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले अधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुनु स्वभाविक भएपनि निर्वाचनबाट कसैले पनि हारको महशुस गर्नु नपरोस भन्ने उद्देश्स्यले रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन गरी सबैलाई सहमति र एकताको सन्देश दिन सफल भएको बताउनु भयो ।

गृहमन्त्री खाँणले नेपाली काँग्रेस कमजोर हुँदा लोकतन्त्र र आम नेपाली नागरिक कमजोर हुने भन्दै अपसी सहमति र एकताले पार्टीलाइ मजबुद बनाउने बताउनुभयो । उहांले संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभयो ।
घोषणा सभामा प्रतिनिधि सभा सार्बजनिक लेखा समितिका सभापति भरत शाहले नेपाली काँग्रेसको आपसी एकता र सांगठनिक सुदृढिकरणका लागि रुपन्देहीमा सर्बसम्मत नेतृत्व चयन गरिएको बताउनु भयो ।
कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रतिनिधिसभा सांसद प्रमोद यादव, निवर्तमान सभापति अब्दुल रज्जाक, प्रदेश सांसद अष्टभुजा पाठक लगायतले बोल्दै नेपाली काँग्रेसलाइ बलियो बनाउन र पार्टीमा भावनात्मक एकता कायम राख्न सर्वसम्मत नेतृत्व चयन गरिएको बताउनु भयो ।
नवनिर्वाचित जिल्ला सभापति जिल्ला सभापति रामकृष्ण खाँणले सिंगो पार्टी र काँग्रेसका आम कार्यकर्ताको भावना अनुरुप साझा नेतृत्वका रुपमा पार्टीलाइ थप गतिशिल बनाउँदै लैजाने प्रतिबद्धता जनाउनु भयो । आगामी आम निर्वाचनमा रुपन्देहीबाट पालिका, प्रदेश र संघीय निर्वाचनमा नेपाली काँग्रेसलाइ जिताएर पहिलो पार्टी बनाउने बताउनु भयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले शनिबार सम्पन्न अधिवेशनबाट रामकृष्ण खाँणको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको औपचारिक घोषणा गर्नुभयो । केन्द्रिय महाधिवेशन प्रतिनिधि अपाङ्ग एक र प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्ग एक जना पनि सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक घिमिरेले जानकारी दिनुभयो ।