काठमाण्डौं, २५ कात्तिक । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ कात्तिक २५ गतेदेखि सुरु भएको १२ औं राष्ट्रिय जनगणना ९ मंसिरमा सकिने छ ।
केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर राष्ट्रिय जनगणनाको सुरुवात गरेको हो । विभागले बिहान ९ः३० बजे राष्ट्रपति भण्डारी र ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको विवरण संकलन गरेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनको विवरण दिउसो १ बजे संकलन गरिने छ ।
तथ्याङ्क विभागले जनगणनाको विवरण संकलनको लागि ४० हजार जना गणक फिल्डमा खटाएको छ । यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको छ ।
जनगणनाको पहिलो चरणमा घरधुरी तथा परिवारको सूचिकरण गरिसकिएको छ । सूचिकृत भईसकेका र कुनै कारणबस छुटेका सबै घरमा पुगेर गणकहरुले विस्तृत विवरण संकलन गर्नेछन् ।
४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनेछन् भने कुल ८० प्रश्न सोधिने छ । एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउने तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले जानकारी गराउनु भयो । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग हुने उहांले बताउनु भयो ।
४० हजार जना गणकले १५ दिनमा विवरण संकलन गरिसक्नुपर्नेछ । भारतीय सेनाको नियन्त्रणमा रहेको दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा पनि जनगणनाको लागि भारतसंग सरकारले कुटनीतिक पहल भईरहेको जनाएको छ । ती क्षेत्रमा भारतले अनुमति नदिए अनुमानका आधारमा जनगणना गरिने विभागले जनाएको छ ।