बुटवल, १ कात्तिक । नेपाल सरकारको गृहमन्त्री भएपछि करिव ३ महिनामा गृह जिल्ला रुपन्देही आउनु भएका मन्त्री बालकृष्ण खाँणले रुपन्देहीको समृद्धिको लागि सदैव प्रयत्नशिल रहने प्रतिवद्धता जनाउनु भएको छ । रुपन्देहीको विकासले देशकै विकासको आधारशिला तयार गर्ने भएकोले रुपन्देहीको विकासको लागि सार्थक प्रयत्न गर्ने उहाँले बताउनु भयो ।
गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मन्त्री खाँणले नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको उहांको स्वागत, सम्मान र बधाई कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताउनु भयो । मन्त्री खाँणले सरकारले विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडी बढाएर शीघ्र सन्चालनको तयारी गरिरहेको बताउनु भयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासको लागि समेत सरकारले कार्ययोजना तयार पारेको समेत मन्त्री खाँणले जानकारी गराउनु भयो ।
फरक प्रसङ्गमा गृहमन्त्री खाँणले ठूला दललाई सरकार चलाउनुस् भनेर जनताले म्यान्डेट दिए पनि त्यस्ता दलले आफ्नै पार्टीभित्रको झगडाका कारण पाँच वर्षे कार्यकाल पुरा गर्न नसकेका कारण काँग्रेसको नेतृत्वमा सरकार बनेको उल्लेख गर्नुभयो । उहांले भन्नुभयो–‘कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मान्नुभएकै थिएन्, काँग्रेसलाई आरोप छ कि काँग्रेस सरकारमा जान हतार गर्छ, चुनावमा जिते पनि नजिते पनि सरकारमा जान इच्छा गर्छ ।’ यसपटक सभापति देउवाले प्रधानमन्त्री बन्न तयार नभएपछि निकासका लागि अग्रसर भइदिनु पर्यो भनेर अन्य दलका नेताहरूको अग्रसरतामा नयाँ गठबन्धन गरेर अगाडी बढेको हो ।
नेपाली काँंग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री खाँणले पार्टीको १४औं महाधिवेशन सफल पार्नु पर्नेमा जोड दिनुभयो । महाधिवेशन अन्तर्गत वडा तथा स्थानीय तहको अधिकांश स्थानको अधिवेशनमा सहमतिमै नेतृत्व चयन भएको उहांले बताउनु भयो । अहिले नेपाली काँग्रेसको काँधमा जिम्मेवारी र चुनौति रहेकाले जिम्मेवारी पुरा गर्न अझ उत्तरदायी र गम्भीर बन्नुपर्ने उहांको भनाइ छ ।
कार्यक्रममा नेपाली काँंग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं कांग्रेस नेता वसिउद्दिन खान, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति सरिता चौधरीलगायतले नेपाली काँंग्रेस जनताको साथमा रहेको र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने बताृनु भयो ।
नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम पछि मन्त्री खाँण नेपाली काँग्रेसका महासमिति सदस्य स्वर्गीय प्रेम नारायण खरेलको शोक सभामा सहभागि हुनुभएको थियो । शोक सभामा वोल्दै उहांले खरेलको मृत्युले पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनु भयो ।
शोक सभा पछि मन्त्री खाँणले बुटवल ज्योतीनगरमा गएको पहिरोको निरिक्षण गर्नुभएको थियो ।