लागु औषध, अबैध हातहतियार र मानव बेचबिखनका विषयमा छलफल
कपिलवस्तु, २८ असोज । नेपाल र भारतका सुरक्षा अधिकारीहरुको आज वसेको संयुक्त बैठकले बडादशैँ (दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ती विसर्जनको क्रममा दुवै देशको शान्ति सुरक्षालाई मध्यनजर गरी असोज २९ र ३० २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवत जावत नियन्त्रण गर्ने निर्णय गरेको छ ।
नेपाल र भारतको सिमा सुरक्षा सम्वन्धि बैठकमा सिमा क्षेत्रमा मदिरा विक्री वितरणमा समेत रोक लगाउने विषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
कपिलवस्तु जिल्लाको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरको नौगढमा बसेको बैठकमा सीमा अपराध, लागु औषध तथा अबैध हातहतियारको ओसार पसार, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई बिषालु औषधी खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । सिमा क्षेत्रबाट हुने अपराध जन्य क्रियाकलाप नियन्त्रणका लागि दुबै देशका सुरक्षा निकाय सचेत र संबेदनसिल बन्नु पर्ने कुरामा पनि बैठकमा जोड दिएइको थियो ।
बैठकमा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल २८ नं गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तु प्रमुख उप अनुसन्धान निर्देशक योगेन्द्र के.सी तथा भारत सिद्धार्थनगर जिल्लाका डिएम दिपक मिणा, एसपी यशवीर सिँह, एसएसवी कमाण्डेन्ट अमित सिँह लगायत भारतीय सिमावर्ती प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।
