बुटवल, २२ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पर्ने मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा भएको विलम्वप्रति यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले शुक्रबार आयोजना गरेको मोतिपुर औद्योगिक क्षेत्र सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि यस क्षेत्रका व्यवसायिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले औद्योगिक क्षेत्र निर्माणमा भएको अवरोध र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावको बारेमा चिन्ता व्यक्त गरेका हुन् ।
२०६० सालदेखि नै औद्योगिक क्षेत्रको अवधारणा सहित बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले पहल गर्दै आएको थियो । त्यतिवेला मुलुक द्वन्द्वमा गुज्रिएकाले सोचेजस्तो गरी मुद्धा उठान हुन भने सकेन । संघको तर्फबाट मोतिपुर औद्योगिक क्षेत्रका संयोजक नवराज श्रेष्ठले भन्नुभयो–‘०६६ सालतिर यसले गति लिन सुरु गरेको हो । त्यतिबेला २३८ विगाहा जग्गामा औद्योगिक क्षेत्र निर्माणको लागि पहल भएको थियो । त्यसमा डिपिआर समेत तयार भईसकेको थियो । पछि सातै प्रदेशमा १ हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारी अवधारणा सहित मोतिपुर औद्योगिक क्षेत्रको काम अगाडि बढ्यो । सोही अनुसार गत चैत २१ गते तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवरोधका बिच उक्त औद्योगिक क्षेत्रको शिलान्यास गर्नु भयो । यद्यपि स्थानीयको अवरोधका कारण काम भने अगाडि बढ्न सकेको छैन ।’
स्थानीयको अवरोध र जग्गा अतिक्रमण हुन थालेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा अहिले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका बिच पनि स्थानीयले बलजफ्ती गरेपछि दिनहुं जसो प्रहरीसंग झडप समेत भैरहेको छ ।
बुटवल औद्योगिक क्षेत्र व्यबस्थापन कार्यालयका प्रमुख तथा मोतिपुर औद्योगिक क्षेत्र परियोजनाका प्रमुख निमेश अधिकारीका अनुसार अहिले स्थानीयले टहरा हाल्ने र परियोजनाका तर्फबाट प्रहरी प्रशासन लगाएर टहरा भत्काउने काम मात्रै भएको छ । मोतिपुर औद्योगिक क्षेत्र निर्माण र उत्पन्न समस्या समाधानका लागि राजनैतिक सहमति आवश्यक देखिएको उहाँले बताउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले मोतिपुर औद्योगिक क्षेत्र निर्माण भएपछि यस क्षेत्रमा एक प्रकारको औद्योगिक वातावरण बन्ने आशा र विश्वास गरिएको भएपनि स्थानीयको अवरोध र त्यही कारण देखाएर भैरहेको विलम्बले आफूहरुलाई चिन्तित बनाएको बताउनु भयो । सरकारको तर्फबाट पहिले त्यहाँ देखिएको समस्यालाई व्यवस्थापन गरेर मात्रै काम अगाडि बढाउनु पर्ने उहाँको सुझाव छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले ठूलो औद्योगिक क्षेत्र बनाउने परिकल्पना अप्ठ्यारो स्थितिमा पुगेको बताउँदै पहिले त्यहाँ देखिएका समस्यालाई सम्बोधन गरेर मात्रै काम अगाडि बढाउन उपयुक्त हुने भनाई राख्नुभयो ।
रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले पहिले सुकुम्बासीका समस्या समाधान गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाईयो भने त्यसले सार्थकता पाउने बताउनु भयो । उहाँले यो राजनीतिक मुद्धा समेत भएकाले निकास पनि राजनीतिक रुपबाटै खोज्नुपर्ने भनाई राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरे, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका उपाध्यक्ष उपेन्द्र अग्रवाल लगायतले बोल्दै समस्या समाधानको उपाय खोजेर मात्र अन्य प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले सहभागिलाई धन्यवाद ज्ञापन गर्दै औद्योगिक क्षेत्र निर्माणमा भएको अवरोध र विलम्वका कारण उद्योगी व्यवसायीलाई औद्योगिक क्षेत्र कार्यान्वयन नहुने होकी चिन्ताले सताएको बताउनु भयो ।