बुटवल, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान कार्यान्वयनमा केहि चुनौति आएपनि मुलुक सहि बाटोमा फर्किएर अगाडि बढिरहेको बताउनु भएको छ ।
आईतवार सातौ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले संविधानको पूर्ण पालन र संवद्र्धनका लागि सबै नेपालीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले संविधान गतिशील दस्तावेज भएको भन्दै संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउदै लैजान सकिने समेत औल्याउनु भयो ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिकन्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको उहांको कथन रहेको छ । यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न मुख्यमन्त्री केसीले अपील गर्नुभयो ।
सो अवसरमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती मगर, उपसभामुख कृष्णी थारु, पर्यटन तथा सहकारी बिकास मन्त्री डिल्ली चौधरी लगायतको सहभागिता रहेको थियो ।