जारी १४ औं महाधिबेशन अन्योलमा
काठमाडौं, २५ भदौ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएपछि काँग्रेस महाधिवेशनमा अन्योलता उत्पन्न भएको छ । यादवले राजीनामा दिएपछि नेपाली काँग्रेसको १४ औं महाधिबेशन अब के हुन्छ भन्ने प्रश्न उठेको छ । यादवले विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको हो ।
यसअघि पार्टी नेताहरुको अनाबश्यक दबाबका कारण राधेश्याम अधिकारीले पनि निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको थियो । गएको चैत १६ गते अधिकारीले निर्वाचन समितिको जिम्मेवारी छोडेपछि उहांको ठाउँमा आउनुभएका यादवले पनि महाधिवेशन सम्पन्न नगराइ राजीनामा दिएपछि नेपाली काँग्रेसको जारी महाधिबेशन के हुन्छ भन्ने प्रश्न उब्जेको छ ।
यादवले राजीनामा दिएपछि पार्टी नेताहरु रमेश लेखक, डा. प्रकाशशरण महत र मिन विश्कर्माले राजीनामा फिर्ता गराउन प्रयास जारी राख्नुभएको छ । यादवले भने आफु अराजनीतिक र अवैधानिक गतिविधिका लागि मतियार बन्न नसक्ने भन्दै राजीनामा फिर्ता नलिने अडान राख्नुभएको बताईएको छ ।
क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लाको वडा अधिवेशन हुन सकेको छैन । २० जिल्लाको वडा अधिबेशन अनिश्चित हुंदा भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।
जसका कारण असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने अवस्था छ । प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।