भैरहवा, १३ भदौ । जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाल भित्र जन्मेका हरेक नागरिकले नागरिकता पाउनु पर्ने धारणा राख्नु भएको छ ।
जनता समाजवादी पार्टी, नेपालले आईतवार रुपन्देहीको भैरहवामा आयोजना गरेको कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता यादवले नेपालको नागरिक हिमालमा जन्मे पनि, पहाडमा जन्मे पनि र तराईमा जन्मे पनि उ नेपाली नागरिक हो भन्नुभयो । अहिलेको नागरिकता कानूनमा बिभेद भएको कारण सो कानून पनि संशोधन गर्नुपर्ने उहाँको धारणा छ । नागरिक सम्बन्धि मस्यौदा आफुहरुले गरे पनि त्यो संसदमै अड्किएको उहाँले बताउनु भयो ।
उहाँले अहिलेको निर्वाचन प्रणालीमा पनि प्रयाप्त सुधार गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । कार्यक्रममा बोल्दै यादवले अहिलेको निर्वाचन प्रणाली महंगो भएकोले यसलाई बदल्नु पर्नेमा जोड दिनुभयो । उहाँले सिमान्तकृत वर्ग र गरिब नागरिक समेत निर्वाचन लड्न सक्ने समानुपातिक निर्वाचन प्रणाली अगाडी बढाउनु पर्ने बताउनु भयो । यादवले लामो लडाई लडेर प्रतिगमनकारीलाई परास्त गरेको र लोकतन्त्रको रक्षा गरेको जिकिर गर्नु भयो ।
नेता यादवले संविधान अहिले पनि त्रुटिपूर्ण रहेको हुंदा यसमा सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले ७ वटा प्रदेशको संरचनालाई समेत बदल्नु पर्ने बताउनु भयो । उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले दिएका सुझाव अनुसार १० प्रदेश वा १० जोड १ प्रदेश उत्तम रहेको सुझाव दिनुभयो ।
जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशको समन्वयमा भएको कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले कार्यकर्तालाई योजनावद्ध, उत्साहपूर्ण, सक्रिय र बुद्धिमतापूर्ण तरिकाले अगाडी बढे आगामी चुनावमा राम्रो परिणाम आउने भएकोले कार्यकर्तालाई सोही अनुसार अगाडी बढ्न आग्रह गर्नुभयो ।
