भैरहवा, ७ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबार देखि गाउँपालिका क्षेत्रमा घर एवम अन्य संरचनाको अनिवार्य नक्शा पास गर्नुपर्ने नियम बनाएको छ ।
गाउापालिकाले सोमबार सूचना जारी गर्दै याही भदौ ८ गते देखि २०७९ असार मसान्तसम्म गाउँपालिकामा रहेका भवन, कलकारखाना एवम अन्य भौतिक संरचनाको नक्शा पास गराए जरिवाना नलाग्ने र सो पछि नियमअनुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।
रोहिणी गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्सापास हुन बाँकी भवन, कलकाराखाना तथा संरचनाहरुको अभिलेखीकरण २०७९ असार मसान्त सम्म गरिसक्न गाउँपालिकाले अनुरोध गरेको छ । सो मिति भित्र अभिलेखीकरण गरे बिलम्ब शुल्क नलाग्ने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो । यसका साथै अब नयाँबन्ने भवन, कलकारखाना एवम अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्शा पास गराउनु पर्ने न्यौपानेको भनाई छ । अहिले नक्शा पास गरि घर बनाए नियम अनुसारको दस्तुर मात्रलाग्ने र कानून विपरित गई संरचना बनाए दस्तुर संगै जरिवाना समेत लाग्ने भएकोले समयमै नक्शा सम्बन्धि काम गर्न उहांले आग्रह गर्नुभयो ।
साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टि गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा ७ हजार हाराहारीमा घरधुरी रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । उहांले यस अघि अब्यवस्थित रुपमा बसोबास रहेको कारण बिभिन्न बिकास निर्माणका कामहरु गर्न कठिनाई हुने गरेको बताउदै ब्यवस्थित बसोबासको लागि घर नक्शा पास अपरिहार्य रहेको बताउनु भयो ।