नवलपुर, ३ भदौ । पूर्वी नवलपरासीमा प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग गरिने छर्रा गोली सहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० मा गस्तीको क्रममा मध्यविन्दु १० निवासी ४२ बर्षीय दलबहादुर थापालाई भरुवा बन्दुक बोकी आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
थापालाई लु २८ प ५४४५ नम्बरको मोटरसाइकलमा भरुवा बन्दुक बोकी आइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट १ थान भरुवा बन्दुक, १८ थान सिसाको छर्रा गोली, सेतो प्लाष्टिक भित्र ४० ग्राम बारुद र सानो बट्टा भित्र राखिएको पटका जस्तो देखिने केपको बट्टा १६ थान फेला पारी बरामद गरेको छ ।
उनलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरी कारवाही अगाडि बढाइएको प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।
