तिलोत्तमा, १८ साउन । तिलोत्तमा चेम्बर अफ कमर्शको आयोजनामा एवं आन्तरिक राजस्व कार्यालय भैरहवाको सहजीकरणमा आर्थिक अध्यादेश २०७८ द्वारा निर्देशित कर नीतिहरुको प्रावधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा आर्थिक अध्यादेश २०७८ ले दिएको कर छुट, मूल्य अभिवृद्धि ऐन तथा नियमावलीमा गरेको परिवर्तन, आयकर ऐन तथा नियमावलीमा गरेको परिवर्तन, अन्तशुल्क ऐन तथा नियमावलीमा गरेको परिवर्तन र छुट सुविधा सम्बन्धी कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले सबैमा कर छुट सुबिधा लिन र सुबिधा सम्बन्धी जानकारी गराउन आग्रह गर्नुभयो । संघका अध्यक्ष बाबुलाल भुसालले समग्र रुपमा आर्थिक अध्यादेश २०७८ द्वारा निर्देशित कर नीतिहरुको प्रावधानमा रहेका परिवर्तनहरुको छुट सुबिधा समयमा लिन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा अन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्ति आचार्य एवं कर अधिकृत यज्ञ ढकालले राजस्वका विभिन्न नीति नियमका बारेमा जानकारी गराउनु भएको थियो । छलफल कार्यक्रममा संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, लेखा समिति संयोजक तथा सदस्यहरु, सल्लाहकार, पुर्ब कार्यसमिति सदस्य तथा पुर्व लेखा समिति, कर्मचारी, उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिनुभयो ।