तिलोत्तमा, १२ साउन । कोभिडबाट प्रभावित एवं बाढीपीडित परिवारलाई धादिङ पुगेर रुपन्देहीका युवाले राहत वितरण गरेका छन् । धादिङ मजनटारका ५५ घर परिवारलाई रुपन्देहीका युवाहरुले राहत वितरण गरेका हुन् ।
हाम्रो अभियानमार्फत सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका तिलोत्तमा रुपन्देहीका युवाहरुले अप्ठेरो अवस्थामा परेका विपन्न परिवारलाई २० किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाबिन लगायतका खाद्य सामग्री वितरण गरेका हुन् ।
राहत वितरणको टोलीलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तामनाथ पाण्डे र समाजसेवी बाबुराम पाठकले बिदाइ गर्नुभएको थियो । हाम्रो अभियानका संयोजक सुनिल पाठक र विष्णु खरेल पीडित परिवारलाई राहत प्रदान गर्न धादिङ पुग्नुभएको हो ।
तिलोत्तमा–१ का वडाध्यक्ष पाण्डेले युवाहरुले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
अभियानको नेतृत्व गरेका सुनिल पाठकले प्रभावितको पीडामा आफूहरुले थोरै भएपनि मलम लगाउने काम गरेको बताउनु भयो । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेको र असार लागेसँगै आएको बाढीका कारण प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं”उहांले भन्नुभयो । महामारीबाट र बाढी पहिरोबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा आभियानले साथ दिने पाठकले बताउनु भयो । समाजसेवी बाबुराम पाठकले महामारीबाट प्रभावितलाई राहत वितरण गरेर संगठनले रचनात्मक काम गरेको बताउनु भयो ।
