बुटवल, ६ साउन । आज देशका विभिन्न भागमा पानी परिरहेको छ । हाल मनसुनको न्यून चापिय रेखा तराई भू–भाग नजिक रहेका कारण पानी परिरहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वाग्मती तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।
