सेवाप्रवाह सम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेशनहरु सार्वजनिक
तिलोत्तमा, ५ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाईन प्रणालीबाट राजस्व संकलन सुरु गरिएको छ । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । नगरपालिकाले सुरु गरेको डिजिटल प्रविधिको मंगलबार एक समारोहका बीच नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गर्नुभयो ।
नगरपालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । यो प्रणाली कार्यान्वयनमा आएसँगै सेवाग्राहीलाई स्थानीय तहलाई बुझाउनु पर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्दतिको अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगर प्रमुख घिमिरेले बताउनुभयो ।
कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरुलाई सहज हुने उहाँको भनाइ छ । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन समेत सहज हुनेछ । यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ ।
करदाता कर तिर्न ई–पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ । त्यसपछि ई–सेवा र खल्ती डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै कर भुक्तानी गर्न सकिनेछ । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । यो प्रणाली सुरु गर्न करदाता पहिलो एक पटक वडा कार्यालमा गएर विवरणहरु अद्यावधिक गराउनुपर्छ । त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ ।
सहभागितामुलक र पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान सुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको भनाइ छ । उहाँले नगरपालिका करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभुति गराउने गरी अनलाइन राजस्व सुरु गरिएको र यसले सुशासनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । अनलाइन भुक्तानीबाट करदाताको डाटाबेस तयार हुने र आउँदा वर्षहरुका लागि राजस्व अनुमानलाई वास्तविक बनाउने उहाँको भनाइ छ ।
करदाताको विवरण ई–पोर्टलमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र करदाता कोड प्राप्त हुन्छ । यहीँ कोडका आधारमा पछिल्लो पटक मोवाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ । यस प्रणालीमा २ वटा पोर्टल छन् । एउटा पब्लिक र अर्को कोर । पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा करदाताको सम्बन्धित घर–जग्गा, सम्पत्ति, व्यवसाय जस्ता व्यक्तिगत विवरण हुन्छन् । यस पोर्टलबाट नगरले उठाउने सम्पूर्ण कर र दस्तुरको दर थाहा पाउन सकिन्छ ।
पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्नका लागि हुन् । यसमा करदाताले नगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्कन करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुविधा छ । करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट नगरलाई कति रकम तिर्नु पर्ने हो ? करदातालाई थाहा हुने सूचना प्रविधि अधिकृत सुदीप ढकालले जानकारी दिनुभयो ।
करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ ।
यसैबीच तिलोत्तमा नगरपालिकाले मंगलबार नैं सेवाप्रवाह सम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेशनहरु सार्वजनिक गरेको छ । नगरपालिकाले अनलाइन राजस्वसहित ई–पेमेन्ट, अनलाइन सिफारिस, कर्मचारी व्यवस्थापन अनुगमन तथा मूल्यांकन सिष्टम, टुरिजम एप, सम्पूर्ण सामुदायिक विद्यालयहरुमा मोबाइल एप्लिकेशन, हेल्लो मेयर सिष्टम, डकुमेन्ट व्यवस्थापन सिष्टम, नगरपालिका मोबाइल एप र सेन्ट्रलाइज्ड सिष्टम लन्चिङ गरेको हो ।