करिव दुई लाख मूल्य बराबरका बेवारिसे सामान भन्सार चलान
कपिलवस्तु, १ साउन । कपिलवस्तु प्रहरीले लागु औषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आईरेहेको ३ (तिन) जना चढेको युपी ५५ बी ९४३६ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार तीन जनालाई लागु औषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं १ नयाँटोल बस्ने वर्ष अन्दाजी २७ को राकेश गुप्ता, निज गुप्ताकी श्रमिती वर्ष २४ की प्रभावती गुप्ता र निज गुप्ताकै भाई वर्ष अन्दाजी २२ को बैजु कुमार गुप्तालाई पक्राउ गरेको छ ।
प्रहरीले चेकजांच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार राकेशको श्रीमती प्रभावती गुप्ताले आफ्नो ब्लाउजबाट कालो रङको प्लाष्टिकको पोका निकाली श्रीमानलाई दिन लागेको अवस्थामा कालो रङको प्लाष्टिकको पोका फेला पारी नियन्त्रणमा लिई तौल गर्दा २९ ग्राम ७९० मिलि ग्राम छाम्दा गिलो र हेर्दा लागुऔषध ब्राउनसुगर जस्तो देखिने लागु पदार्थ, निट्राभेट १० लेखेको १० ट्याव्लेट, विन्सपास्मो फोर्ट लेखेको १२४ क्याप्सुल बरामद भएको छ । प्रहरीले निजहरु चढी आएको युपी ५५ बी ९४३६ नम्वरको मोटरसाईकल र ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
यस्तै कपिलवस्तु प्रहरीले किराना सामान, लत्ता कपडा, मेसिनरी लगायतका सामान बरामद गरि भन्सार पठाएको छ ।
विभिन्न मितिमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेका अन्दाजी मुल्य एक लाख एकानब्बे हजार सातसय पचास पर्ने लेडिज कपडा, बच्चाको कपडा, हार्डवेयर, किराना लगायत बिभिन्न किसिमका सामानहरु विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । बरामद भएका सामान आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय सुठौली पठाईएको प्रहरीले जनाएको छ ।