सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा
बुटवल, १ साउन । लुम्बिनी प्रदेश सरकारले संसदबाट बजेट पारित गर्न असफल भएपछि मध्य रातमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिदिएको छ । बजेट पारित गर्न सदनमा बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री शँकर पोखरेलले बिहिबार मध्यराति पौने बाह्र बजे तिर बर्षे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलको सिफारिसमा गएराति १२ बजेदेखि लागु हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गर्नुभएको हो । मध्यरातमा अधिवेशन अन्त्य गरे संगै प्रदेश सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा रहेको बुझिएको छ । स्रोतका अनुसार प्रदेश सरकार यसको तयारीमा रहेको छ ।
बिहिबारको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल पछि मन्त्री र मुख्यमन्त्रीले जवाफ दिने र बजेट निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि थियो । तर आफुसंग बहुमत रहेको दावी गर्दै आउनुभएका मुख्यमन्त्री शँकर पोखरेल बजेट पारित गर्न चाहिने बहुमत जुटाउन नसकेपछि बिहिबार सदनबाटै भाग्नु परेको थियो ।
मुख्यमन्त्रीले सदनलाइ सम्बोधन गर्दै सहमतिमा बजेट पास गर्न विपक्षीसंग पटक पटक आग्रह गर्नुभएको थियो । तर विपक्षीले मतदानबाटै टुङ्गयाउनु पर्ने प्रस्ताव गर्नासाथ मुख्यमन्त्री सहित मन्त्रीहरु र सात्तारुढ सांसदहरु सदन बैठकै छोडेर हिडेका थिए । बजेट पारित गराउन बहुमत जुटाउन नसकेका मुख्यमन्त्री पोखरेल त्यसपछि अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने तयारीमा जुट्नुभएको छ ।
हाल लुम्बिनी प्रदेश सभा ८३ सदस्यीय छ । विपक्षी गठबन्धनमा सभामुखलाइ छोडेर ४१ सांसद छन । मुख्यमन्त्री पोखरेलसंग अहिले नेकपा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षका ३ गरी ४१ जना छन् । तर एमालेका ३८ सांसद मध्यका सूर्य चिन्ह लिएर नवलपरासीको निर्वाचन क्षेत्र नं. १(२) बाट निर्वाचित सांसद अजय शाही भने बजेट पारित गर्ने कार्यसूचि रहेको बिहिबारको संसद बैठकमा उपस्थित हुनुभएन ।
शाही यसअघि गत बैशाख १९ गते पनि विपक्षी मोर्चामा सामेल हुनुभएको थियो । तर संसद छल्न राजीनामाको नाटक गर्नुभएका मुख्यमन्त्री पोखरेल सोही दिन फेरी मुख्यमन्त्री बनेपछि भने शाहीले अर्को दिन आत्मआलोचना गर्दै आफ्नो समर्थन पोखरेललाइ नै रहेको जनाउनु भएको थियो । सांसद शाहीले पछिल्लो समय पोखरेलको साथ छोडेको श्रोतको दावी छ । त्यससंगै एक जना मन्त्रीले पनि मुख्यमन्त्रीको साथ छोड्ने तयारी करिब अन्तिम चरणमा पुगेको श्रोतको दावी छ ।
बजेट पारित हुन नदिएर सरकारलाइ नैतिक संकटमा पार्ने विपक्षीको रणनीति र आफुसंग स्पष्ट बहुमत छैन भन्ने बिषयमा जानकार मुख्यमन्त्री पोखरेलले यसैकारण मध्यरातमा संसद अधिवेशन नै अन्त्य गरिदिनु भयो । संसद बैठक हतारमा अन्तय गरेर मुख्यमन्त्री पोखरेल अध्यादेशबाट बजेट ल्याउने गृहकार्यमा जुट्नुभएको छ ।
आफ्नो सत्ता टिकाउन पोखरेलले पटक पटक सदनलाइ छल्दै आउनुभएको छ । गत बैशाख १९ मा पनि आफु बिरुद्ध अविश्वासको प्रस्ताव आएपछि सदन छल्न राजीनामाको नाटक गरेर सोही दिन नै पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
संविधानको धारा १६८ को १ बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त भएका भनिएका पोखरेलले त्यस लगत्तै राजपा महन्थ ठाकुर पक्षका ४ जनालाइ मन्त्री बनाउनु भयो । त्यसमध्ये बिहिबार सम्म तीन जना सन्तोष कुमार पाण्डेय, कल्पना पाण्डे र विजय कुमार यादव पोखरेलकै मन्त्रीमण्डल मै छन् । एक जना उपेन्द्र पक्षकी सुमन शर्मा रायमाझीले मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनमा फर्किसक्नुभएको छ । त्यसयता नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले बहुमत पुष्टि गर्न पोखरेलाइ चुनौती दिइरहेका छन् । आफ्नै बोलीको विश्वास गर्न नसकेका पोखरेल बहुमतको परिक्षणमा उत्रन सक्नुभएको छैन ।
बैशाखमा सदन छल्दै प्रदेश प्रमुखलाइ राम्रै उपयोग गरेर उहां पुन: मुख्यमन्त्री बन्नुभएको थियो । त्यतिबेला एमालेकै लेटर प्याडमा प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्नुभएको थियो । बहुमत पुष्टि नभई अल्पमतका पोखरेललाई मुख्यमन्त्री नियुक्त नगर्न विपक्षीले गरेको आग्रह, विपक्षी गठबन्धनले शशरीर बहुमत सासंद उपस्थित भएर बुझाएको बहुमतको हस्ताक्षर र प्रदेश प्रमुख कार्यालय अगाडी नै गरेको खबरदारीलाइ लत्याउँदै प्रदेश प्रमुखले पोखरेललाइ एमालेकै लेटरप्याडमा मुख्यमन्त्री नियुक्ति गरिदिनुभएको थियो । पोखरेललाइ सपथ खुवाउन प्रदेश प्रमुख धर्मनाथ यादवलाइ कडा सुरक्षा घेरामा राखेर मुख्यमन्त्री कार्यालय मै पुर्याइएको थियो ।
