बुटवल, २९ असार । रोटरी क्लब अफ बुटवलको २९ औ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । वर्ष २०२०\०२१ का अध्यक्ष सुनिल श्रेष्ठले वर्ष २०२१\२२ का अध्यक्ष प्रा. डा. ताराप्रसाद उपाध्यायलाई पद हस्तान्तरण गर्नुभएको छ ।
पदस्थापन कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले सामाजिक क्षेत्रमा रोटरीले महत्वपूर्ण काम गर्दै आएको र यसले क्लवको सामाजिक छवि उचो भएको बताउनु भयो । स्वास्थ्य क्षेत्र विकासमा कहिल्यै प्राथमिकतामा नपरेको अवस्थामा रोटरीले स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर काम गरेको भन्दै उहांले क्लवको उच्च प्रशंसा गर्नुभयो । रोटरीको मूल्य मान्यतालाई राजनीतिक दलहरुले पनि आत्मसाथ गर्नु जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०\२१ का गभर्नर राजिव पोखरेलले समुदायमा रोटरीको उपस्थिति र भूमिका अतुलनिय रहेको बताउँदै रोटरी क्लव अफ बुटवलको वर्तमान नेतृत्वलाई विगतका योजनाहरुलाई निरन्तरता दिंदै अघि बढ्न आग्रह गर्नुभयो । मुलुक कोभिड १९ को महामारीबाट गुज्रिरहेको सन्दर्भमा सबै क्षेत्रमा यसको असर परेको उल्लेख गर्दै उहांले तर यसैलाई आधार बनाएर सामाजिक दायित्वबाट नपन्छिन रोटरीयनहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वर्ष २०२१\२२ का डिष्ट्रिक एसिष्टेन्ट गभर्नर राजेन्द्र कार्कीले अध्यक्ष डा. ताराप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो भने अध्यक्ष उपाध्यायले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । त्यस्तै वर्ष २०२०\२१ का सचिव रोम शर्माले वर्ष २०२१\२२ का सचिव खिमनारायण पराजुलीलाई माइन्यूट हस्तान्तरण गर्नुभयो । त्यसैगरी वर्ष २०२०\२१ का कोषाध्यक्ष खिमनारायण पराजुलीले वर्ष २०२१\२२ का कोषाध्यक्ष गोपाल बस्याललाई अडिट रिपोर्ट हस्तान्तरण गर्नुभयो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिजी नोमिनी राजेन्द्रप्रसाद ध्वजूले रोटरीले अगाडि सारेका प्रोजेक्ट समुदायको हितमा रहेको भन्दै समुदायसँगकै सहकार्यमा अगाडि बढे परियोजनाहरु सफल रुपमा कार्यान्वयन गर्न सकिने उल्लेख गर्नुभयो । रोटरी क्लव अफ बुटवलका वर्ष २०२०\२१ का एसिष्टेन्ट गभर्नर खिमानन्द भुसालले सामाजिक क्षेत्रमा रोटरीले खेलेको भूमिका प्रभावकारी बनेको उल्लेख गर्दै अवको नेतृत्वले संस्थाको छविलाई अझ उचो बनाउने विश्वास व्यक्त गर्नुभयो । रोटरी क्लव अफ बुटवल वर्ष २०२१\२२ का अध्यक्ष डा. ताराप्रसाद उपाध्यायले स्थानीयको आवश्यकता पहिचान गरी अगाडी बढ्न आफू र आफ्नो टिम प्रयत्नशील रहने भन्दै चालु अवस्थामा रहेका प्रोजेक्टलाई निरन्तरता दिने, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा ट्राफिक लाईट जडानको काम गरिने र शिक्षा, स्वास्थ्य रोजगार जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । कार्यक्रममा क्लवका एजी राजेन्द्रप्रसाद लम्साल, पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, युवा समाजसेवी तेजेन्द्र केसी र राजेन्द्र ढकाल लगायतले सबै रोटरीयनहरुले आफ्नो दायित्व र जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । त्यस अवसरमा क्लवद्वारा प्रकाशित डाइरेक्टरी विमोचन गरिएको थियो ।
रोटरीले हिलपार्कमा सेड निर्माण गर्ने
रोटरी क्लव अफ बुटवलले बुटवलको हिलपार्कमा सेड निर्माण गर्ने भएको छ । क्लवका वर्ष २०२०\२१ का अध्यक्ष सुनिल श्रेष्ठको अगुवाईमा हिलपार्कमा सेड निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो । सेडको शिलान्यास गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०÷२१ का गभर्नर राजिव पोखरेलले पूर्वाधारको क्षेत्रमा पनि रोटरीले काम गरिरहेको बताउनु भयो ।
हिलपार्क क्षेत्र पर्यटकीय दृष्टिले उपयुक्त रहेको र यहाँ वनभोज लगायत विभिन्न कार्यक्रम गर्नका लागि सेड आवश्यक पर्ने भएकाले रोटरीले यस्ता काममा अग्रसरता लिनु सह्रानीय रहेको उहांको भनाइ छ ।
रोटरी क्लव अफ बुटवलका वर्ष २०२०\२१ का अध्यक्ष सुनिल श्रेष्ठले शिलान्यास गरिएको सेडको निर्माण छिटै नै सम्पन्न गरिने विश्वास दिलाउनु भएको थियो ।
