तिलोत्तमा, २१ असार । तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिहरुले पदस्थापन गरी कार्य प्रारम्भ गरेको सोमबार चार वर्ष पूरा भएको छ । तिलोत्तमा नगरपालिका स्थापना भएपछि पहिलो पटक २०७४ असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले असार २१ गते पदस्थापनसँगै कार्य प्रारम्भ गरेका थिए ।
पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा जनप्रतिनिधिहरुले सोमबार नगरकार्यपालिकाको कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ को नारासहित हरियाली प्रवद्र्धन र सरसफाईलाई प्राथमिकतामा राख्दै आएको तिलोत्तमाले पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
वृक्षारोपणको सुभारम्भ गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले सीमित स्रोत र साधनको बाबजुद पनि तिलोत्तमाले आफ्नो पहिचान स्थापित गर्नेगरी काम गरिरहेको बताउँदै विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न बाँकी कार्यकालमा अझै सिर्जनात्मक काम गरिने बताउनुभयो । चार वर्षमा जे—जति काम भए त्यसले नगरपालिकाको एउटा गन्तव्य तय गरेको बताउँदै उहाँले यो अवधिमा नगरपालिकाले अघि सारेका विभिन्न प्रवद्र्धनात्मक अभियान तथा विकास निर्माणमा सबैबाट प्राप्त सहयोग, सहकार्य र समन्वयले तिलोत्तमाको गरिमा बढाएको बताउनुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नयाँ नगरपालिका भए पनि तिलोत्तमाले छोटो अवधिमा धेरै राम्रा काम गर्न सकेको बताउँदै जनप्रतिनिधिको कुशल नेतृत्व र सबैको सहयोगले यो सम्भव भएको बताउनुभयो । नगर प्रवक्ता सुरेन्द्र श्रीले नगर कार्यपालिकाको पहिलो बैठकले वार्षिक ५० हजार विरुवा रोप्ने निर्णय गरेअनुरुप पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा पनि वृक्षारोपण गरिएको जानकारी दिनुभयो । त्यसअवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुले नगर कार्यपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोपेका थिए ।