बुटवल, ९ असार । रोटरी क्लव अफ बुटवलले रुपन्देहीको देवदहमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा एक सय ५५ जना महिला सहभागी भएका थिए । उनीहरुलाई महिलासम्बन्धी प्रोल्याप्स र सर्भिकल क्यान्सर स्क्रिनिङ गरिएको थियो । देवदह स्वास्थ्यचौकी खैरेनीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. ज्योती राना, रेडियोलोजिस्ट डा. अन्जान कोइरालाको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै एशियन डाइग्नोसिस ल्यावबाट मनिष महतो लगायतको टोलीले प्राविधिक परीक्षण गरेको थियो ।
चिकित्सकहरुले पाठेघरको क्यान्सरबाट बच्न ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी गराएका थिए ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन देवदह नगरपालिकाका प्रमुख हिराबहादुर केसीले गर्नुभएको थियो । त्यस अवसरमा उहांले यस्ता कार्यक्रमले स्वास्थ्य सम्बन्धी जनचेतनामा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह स्वास्थ्य चौकीका प्रमुख डिलेश्वर श्रेष्ठ, रोटरी क्लव अफ बुटवलका सचिव रोम शर्मा, कोषाध्यक्ष खेमनारायण पराजुलीलगायतले क्लवले गर्दै आएको सामाजिक कार्यको बारेमा जानकारी गराउनु भएको थियो ।