सवारी साधन विच बाटोमै रोकिए
बुटवल, ३ असार । अबिरल बर्षा संगै गएको पहिरो र बाढिका कारण सडक भासिएर तीन दिनदेखि अवरुद्ध महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग अझै खुल्न सकेका छैनन् । महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध भएको छ । मंगलबार मध्यान्हदेखि अवरुद्ध भएको सडक अझै खुल्न नसकेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम चल्ने सवारी साधनहरु सडकमै रोकिएका छन् ।
अवरुद्ध सिद्धार्थ राजमार्ग पनि अझै सचारु हुन सकेको छैन । अविरल वर्षासँगै खसेको पहिरोले यो राजमार्ग पनि तीन दिनदेखि अवरुद्ध भएको छ । पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरोले झण्डै ५० मिटर सडक जगै देखि बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो ।
पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पहिरोले बगाएको सडकमा डाइभर्सनको काम सकिनै लाग्दा पुनः पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन समस्या भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।