बुटवल, २९ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक सिद्धेश्वरमान श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाण्डौं कोटेश्वर निवासी श्रेष्ठ संक्रमित भएपछि काठमाण्डौंकै सिभिल सर्भिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उहांको उपचारकै क्रममा बिहिबार राति निधन भएको विश्वविद्यालयले जनाएको छ ।
बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्यले शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनले शैक्षिक क्षेत्रमा अपुरणीय क्षति भएको जनाउनु भएको छ । विश्वविद्यालयले परिवारजनप्रति समवेदना प्रकट गर्दै श्रेष्ठको सुखावती भुवनमा बासको कामना गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका पूर्व सह–प्राध्यापक श्रेष्ठ ०७३ सालदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयमा परीक्षा नियन्त्रकका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहांका एक छोरा, एक छोरी र श्रीमती छन् ।