बुटवल, १२ जेठ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जारी निषेधाज्ञाको अवधि जेठ २० गतेसम्म कायम गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा २०७८ साल जेठ १३ गते विहान ६ बजे देखि जेठ २० गते राती १२ बजेसम्म रुपन्देही जिल्ला भर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिईएको जनाइएको छ । सूचनामा निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काममा बाहेक कुनैपनि ब्यक्ति घर बाहिर निस्कन नपाईने र मर्निङ् र ईभिनिङ् वाक समेत गर्न नपाइने उल्लेख छ ।
यस्तै जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन नगर्ने, भेला, भिडभाड गर्न, जात्रा सञ्चालन गर्न, महोत्सव, सभा जुलुसलगायतका मानिसको भिडभाड हुने कुनैपनि क्रियाकलाप सञ्चालन गर्न नपाइने, सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपाटमेन्टल स्टोर, सपिङ् मल, ब्युटिपार्लर, स्विमिङ पुल, स्पा, संग्राहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिम खाना सञ्चालन नगर्ने उल्लेख छ ।
यस्तै गरी परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पुजा बाहेकका सम्पुर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट नगर्ने, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेण्टरलगायत जमघट हुने गतिविधि सञ्चालन नगर्ने, रुपन्देहीबाट अन्यत्र जिल्लाका लागि छुट्ने सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने, पूर्व पश्चिम राजमार्ग वारपार गर्ने बाहेक यस जिल्लामा अन्तिम स्पट विन्दु भई अन्य जिल्लाबाट आउन निषेध गर्ने र होटल, रेष्टुरेण्ट र पार्टी प्यालेस सञ्चालन गर्न नपाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवालाई भने निषेध गरिएको छैन ।