बुटवल, १३ बैशाख । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले कोभिडको दोस्रो चरणको माहामारी फैलिदै गएसंगै जिल्लाका ४ सय बढी होटल आइसोलेशन र क्वारेन्टाईन वनाउनकालागि राज्यलाई सहयोग गर्ने जनाएको छ । संघले कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर १ हजार बढी कोभिड संक्रमितहरुलाई राख्न सक्नेगरि तयारी गरेको जनाएको छ । संघका पदाधिकारीको आकस्मिक बैठकले सरकारलाई आवश्यक परे जिल्लाका होटलहरु आइसोलेशन र क्वारेन्टाईनका लागि उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । संघका अध्यक्ष रामप्रसाद गौतमले कोभिडको महामारीमा सरकारले गतवर्ष नै घोषणा गरेको व्यवसायीहरुलाई विद्युत डिमाण्ड चार्ज मिनाहा गर्ने निर्णय विद्युत प्राधिकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएको गुनासो गर्दै यसतर्फ सरकारको ध्यानजान जरुरी रहेको औल्याउनु भयो ।
संघले कोभिडको माहामारीमा अग्रभागमा खटिने होटल यवसायी र कर्मचारीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णय समेत गरेको छ । सरकार र स्थानीय तहसंग सहकार्य गरि कोभिड विरुद्धको सचेतना कार्यक्रम गर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ । संघले कोभिड संक्रमित भएका १ हजार बढीलाई संघमा आवद्ध व्यवसायीको होटलमा न्युनतम शुल्कमा राख्न सक्ने गरि तयारी गरिएको र बैठकवाटै सोको निर्णय समेत गराएको महासचिव माधवकुमार खनालले बताउनु भयो ।
होटलतथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा १ हजार बढी व्यवसायी आवद्ध रहेको र यो ब्यवसायमा करिव ४० अर्व भन्दा बढी लगानी रहेको छ । पछिला दिनमा स्तरिय होटल तथा रिसोर्ट खोल्ने क्रम निकै वढेपनि कोरोनाको मारले व्यवसायीको लगानी धरापमा पर्न सक्ने भएकाले उनीहरुको लगानीको सुरक्षाकालागि सरकारले व्यवसायिक ऋणमा सहुलियत र व्याज मिनाहा जस्ता राहातका कार्यक्रम संचालन गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।