बुटवल, २ बैशाख । रुपन्देहीमा पहिलोपटक नागरिकलाई घर घरमै यातायात सेवा प्रदान गर्न थालिएको छ । सफल सवारी सेवाले दुईवटा मोवाइल एप्लिकेशन लन्च गर्दै बुधबारदेखि घरघरमै यातायात सेवाको सुरुवात गरेको हो ।
काठमाडौंमा यो सेवा बिगतदेखि नै चलिरहेको भएपनि उपत्यका बाहिर भने रुपन्देहीमा पहिलो हो । सजिलो सवारी र सजिलो सवारी चालक गरी दुईवटा एप्स लन्च गरिएको छ । यी दुई मोवाइल एपमार्फत् यात्रा गर्न चाहने व्यक्ति कहाँ छ र कहाँ जान चाहन्छ ? सबै जानकारी दिन सकिन्छ । यो एपमार्फत् बोलाएको ठाउँमा केही समयमै सवारी लिन आइपुग्छ ।
सूचना प्रविधि विषयमा अध्ययन गरेका सातजना युवा विद्यार्थी रेशम कार्की, विष्णु घिमिरे, रोशन खनाल, नविन राना, हिमाल शर्मा, खिमा अधिकारी र सुदन पाण्डेले १५ लाख लगानीमा सवारी सेवा सुरु गरेका हुन् ।
अहिलेसम्म साढे दुईसय चालकले सजिलो सवारी चालकमा आफ्नो नाम दर्ता गराइसकेको संस्थाका अध्यक्ष रेशम कार्कीले जानकारी दिनुभयो । सफलको सेवा शुल्क मोटरसाईकल तथा स्कुटरको हकमा ६ किलोमिटरका लागि ५० रुपियाँ तोकिएको छ । त्यसपछि हरेक एक किलोमिटरमा थप शुल्क बढ्दै जान्छ । त्यसमा राइडरलाई ९० प्रतिशत जान्छ भने संस्थाले १५ प्रतिशत लिन्छ । त्यस्तै ट्याक्सीको हकमा ५ किलोमिटरको ४०० रुपियाँ पर्छ भने त्यसपछि हरेक किलोमिटरमा ४० रुपियाँ थपिंदै जान्छ । त्यस्तै लक्जरी कारको ५ किलोमिटरको ८०० रुपियाँ तोकिएको भने त्यसपछि हरेक किलोमिटरको ५० रुपियाँ थपिंदै जान्छ ।
यसबाट नयाँ रोजगारीसमेत सिर्जना भएको संस्थाकी प्रवन्ध निर्देशक विष्णु घिमिरेले बताउनुभयो । कोभिडको बेलामा यातायात सेवा ठप्प हुँदा नागरिकले पाएको दुःखलाई मध्यनजर गर्दै यो अवधारणा अगाडि बढेको र अहिले आएर एप्लिकेशन तयार गरी सेवा शुभारम्भ गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
सवारी चालक एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, सवारी साधनको विवरण र लाइसेन्सलगायत आवश्यक विवरण दर्ता गर्नुपर्छ । सुविधा लिने यात्रुले एपमार्फत् फारम भर्नुपर्छ, एपको प्रयोगकर्ताले रुपन्देहीको जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सक्नेछन् ।
“हामीसँग आबद्ध सवारी साधनको तेस्रो पक्ष बिमा हुन्छ, त्यसबाटै दुर्घटनामा घाइतेको उपचार हुन्छ । हाम्रो उद्देश्य सबैले सर्वसुलभ यातायात सेवा पाउन् भन्ने हो । एपमार्फत् धेरै देशले यो सेवा विस्तार गरिसकेका छन्”–एप्लिकेशन निर्माण गरेका संस्थाका निर्देशक रोशन खनालले भन्नुभयो ।
बजारमा देखिएका ट्याक्सी कुनै भाडा, कुनै साहुको र कुनै ऋणमा चलाउने भएकाले त्यसको लगानी उठाउन गाह्रो हुने चालकहरू गुनासो गर्छन् । सफल सवारी सेवाले यो गुनासोलाई समेत अन्त्य गरिदिने खनालको भनाइ छ ।
यसबाट यात्रु ठगिने समस्या पनि नहुने र सहुलियत दरमै सेवा प्राप्त गरिने भएकाले यो भरपर्दो हुने उहांले बताउनु भयो । यस्तो प्रविधिले ट्याक्सी चालकहरूले लिने गरेको मनपरी भाडालाई चुनौती दिएको उहांको भनाइ छ ।
त्यस अवसरमा तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको भन्दै रुपन्देहीमा सुरु भएको सेवाले केही हदसम्म यो आवश्यकतालाई पूरा गरेको बताउनुभयो । आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालले अहिले घरघरमै इन्टरनेटसँग नागरिकको पहुँच पुगेकाले सजिलो सवारी सेवा प्राप्त गर्न नागरिकलाई सहज हुने बताउनु भयो ।