बुटवल, ३० चैत । कोरोना संक्रमणबाट बुटवलमा तीन जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको आज विहान फरकफरक समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । लुम्विनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।
चैत २१ गते कोरोना संक्रमण देखिएकी तिलोत्तमाकी महिला २३ गते कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । ज्वरो, दम र निमोनियाको समस्या रहेकी उनको आज विहान ७ :२७ मा मृत्यु भएको हो ।
चैत गते २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन कोरोना अस्पताल भर्ना भएकी अर्घाखाँचीकी महिलाको आज विहान ९ :५० वजे मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । ती महिलामा पनि ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो ।
यस्तै चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारका लागि अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको आज विहान ७ :१४ वजे मृत्यु भएको हो । डा. गौतमका अनुसार संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो ।
