बुटवल, ४ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो । निगमका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको छ । यसअघि माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो भने सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु परेको निगमको दाबी छ । मूल्य बृद्धिसंगै काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य ९७ रूपैयाँ कायम गरिएको छ । यस्तै हवाइ इन्धनको मूल्य ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
