ब्यवसायीका समस्या सरकारले नसुन्दा समस्या यथावत : हमाल
बुटवल, ४ फागुन । खुल्ला सिमानाका कारण नेपालको व्यबसाय दिनप्रतिदिन धराशायी हुँदै गएको व्यबसायीहरुले गुनासो गरेका छन् । नेपालको सिमामा पर्ने भारतको सुनौली बजार नेपाली उपभोक्ताका कारण गुल्जार भएपनि नेपाली बजार भने सुनसान हुँदै गएको उनीहरुको गुनासो छ ।
बुटवल उद्योग बाणज्य संघ अन्तरगत गठित कपडा बस्तुगत समितिको आयोजनामा भएको भेटघाट तथा फेलोशिप कार्यक्रममा सहभागि व्यबसायीहरुले खुला सिमानाका कारण राजश्व तिरेर नेपालमा व्यबसाय गर्ने व्यबसायी मारमा परेको बताए ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघले व्यबसायीको समस्या उजागर गर्ने तथा समस्या समाधानको लागि पहल तथा पैरवी गर्दै आएपनि सरकारले त्यसलाई नसुनेका कारण समस्या जस्ताको त्यस्तै रहेको बताउनु भयो । उहाँले संघले अंगाडी सारेका कार्यक्रममा व्यबसायीको सक्रिय साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरनतर साथ र सहयोग रहने विश्वास ब्यक्त गर्नुभयो ।
संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्लीले आफू संघको अध्यक्ष हुँदा नगदे बालीमा व्यबसायीकरण तथा दुग्ध प्रशोधन (डेरी) व्यबसाय सुरु गरेको स्मरण गर्दै सुरुका दिनदेखि नै संघले अगाडी सारेका योजनाले मूर्तरुप लिएको बताउनु भयो । उहांले समस्या पहिचान गरेर त्यसको पैरवी गर्दै अगाडी बढ्न सकेमा हरेक समस्याको समाधान हुने विश्वास ब्यक्त गर्नुभयो ।
संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले संघले नयाँ अवधारणा ल्याएर बस्तुगत समिति गठन गरेकै कारण आज सम्बन्धित व्यबसायको समस्या पहिचान र समाधानको लागि पहल पैरवी गर्न सहज भएको भनाई राख्नुभयो ।
कपडा बस्तुगत समितिका पूर्व अध्यक्ष तथा संघका कार्यसमिति सदस्य प्रकाशकुमार श्रेष्ठले खुला सिमाका कारण कपडा व्यबसायी बढी मारमा परेको बताउँदै समस्या समाधानका लागि बिशेष पहल गर्न संघका पदाधिकारीलाई आग्रह गर्नुभयो । संघले अगाडी सारेका हरेक गतिविधि र कार्यक्रममा बस्तुगत समितिले बिशेष सहयोग गरेको स्मरण गराउँदै साथ र सहयोगको मुल्याँकन गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रम कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम श्रेष्ठको अध्यक्षता तथा सचिव सबिर मियाँको सञ्चालनमा भएको थियो ।