बुटवल, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शँकर पोखरेलले प्रतिनिधिसभा विघटनको पक्षमा कति जनता छन् भन्ने फागुन १ गते बुटवलमा हुने सभामा देखाइने बताउनु भएको छ ।
प्रतिनिधिसभा विघटनको विषयलाई लिएर जनतामा भ्रम फैलाउने काम भएको भन्दै मुख्यमन्त्री पोखरेलले उक्त कदमको पक्षमा कति जनता छन् भन्ने बुटवलको सभाबाट देखाइदिने बताउनु भयो ।
नेकपा ओली समूहले यही फागुन १ गते बुटवलमा गर्न लागेको सभाबारे जानकारी दिन बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले बुटवलको सभा अहिलेसम्मकै ठुलो र ऐतिहासिक हुने दाबी समेत गर्नुभयोे । सभामा २ लाख मानिस सहभागिहुने दाबीगर्दै मुख्यमन्त्री पोखरेलले रुपन्देही जिल्लाबाट मात्रै १ लाख र अन्य जिल्लाबाट १ लाख जनता सहभागि गराइने बताउनुभयो ।
बुटवलमा हुने जनसभा र जनप्रदर्शनले राष्ट्रलाई एउटा सन्देश दिदै आएको स्मरण गदै पोखरेलले भन्नुभयो–‘फागुन १ को सभाबाट पनि संसद विघटनको पक्षमा ठुलो जनसमर्थन छ भन्ने सन्देस जानेछ ।
प्रधानमन्त्री केपी ओलीकै शैलीमा मुख्यमन्त्री पोखरेलले भन्नुभयो–‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको जनसभावाट राष्ट्रलाई सुनाउन चाहान्छौं, देखाउन चाहान्छौ, जनपरिचालन कस्तो हुँदो रहेछ त्यो पनि बुटवलबाट देखाउछौं ।’ पोखरेलले प्रतिनिधि सभा विघटन विवादको विषय नभएर पार्टी भित्रको विबादको परिणाम भएको उल्लेख गर्नुभयो ।