बुटवल, ११ माघ । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको मिलोमतो र सेटिङमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउनु भएको छ । केपी ओली एक्लैले संसद विघटनको कदम नचालेको दाबी गर्दै नेता पुनले एमसीसी पास गर्न नदिएपछि शक्ति केन्द्रहरुले नेपालमा अस्थिरता ल्याउन ओलीलाई अहिलेको कदम चाल्न लगाएको बताउनु भयो ।
आदिवासी जनजाती महासंघको सदस्यहरुलाई बुटवलमा प्रशिक्षण दिँदै पूर्व उर्जामन्त्री समेत रहेका नेता पुनले नेपालमा अहिले बैधानिक प्रधानमन्त्री नभएको दाबि समेत गर्नुभएको छ । अहिले नेपाल प्रधानमन्त्री नभएको अवस्थामा छ भन्दै उहांले संसद बिघटनपछि केपी ओली वैधानिक प्रधानमन्त्री नरहेको र राष्ट्रपतिले समेत काम चलाउ भनेर पत्र पनि नदिएकाले ओली बैधानिक प्रधानमन्त्री नरहेको उल्लेख गर्नुभयो ।
संबिधानमा प्रतिनिधिसभा सदस्य बाहिरका ब्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरेकाले प्रतिनिधिसभा भंग भैसकेको अवस्थामा ओली वैधानिक प्रधानमन्त्री हुन नसक्ने दावी नेता पुनले गर्नुभयो । साढे ३ महिनामा निर्वाचन हुनै नसक्ने दाबी गर्दै नेता पुनले बैशाख पछि ओलीको बाँकी रहेको बैधता पनि सकिने जिकिर गर्नुभयो ।
पूर्व सभामुख ओनसरी घर्तीले ओलीको दम्भका कारण सबै नेपालीले दुःख पाएको बताउनुभयो । लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको पनि सहभागिता रहेको कार्यक्रम नेकपा नेतृ सरिता श्रीसको संचालनमा भएको थियो ।