रामकुमार श्रेष्ठ
नवलपरासी, ११ माघ । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताउनुभएको छ । आइतबार नवलपुरको कावासोतीमा राप्रपा नवलपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संसद पुनस्थापना गरेर केपी ओलीको सट्टा प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउदैमा समस्या हल नहुने उल्लेख गर्नुभयो । नेता थापाले दुई तिहाईको बहुमतको सरकारले जस्तोसुकै व्यवस्था ल्याउन सक्ने भए पनि शक्ति र अधिकारको सदुपयोग नगरेर दुरुपयोग मात्र गरेको आरोप लगाउनु भयो ।
थापाले भन्नुभयो–‘न्यायलयमा समेत आफ्नो मान्छे भर्ने काम भयो । अहिले सरकार र सडक दुवैबाट न्यायको प्रतिमूर्ति सर्वोच्च माथि औला ठडाउने, दबाब दिने र तर्साउने काम भईरहेको छ जसले देश ठूलो संकटमा जाँदै छ ।’ अहिलेको निकास भनेको विप्लवदेखि राजासम्म अट्ने लोकतान्त्रिक व्यवस्था सहितको राजतन्त्र भएको दावी गर्दै हिन्दु राष्ट्र र राजासहितको लोकतान्त्रिक व्यवस्थाले मात्र सबै समस्याको हल हुने नेता थापाले बताउनुभयो ।
राजसंस्था नभएकै कारण देशमा भ्रष्टाचार मौलाएको र विदेशी शक्तिको चलखेल बढेको दावी गर्दै नेता थापाले पार्टीबाट छानिएको राष्ट्रपति तटस्थ र सबैको हित अनुकुलको राष्ट्रपति हुन नसक्ने भन्दै राष्ट्रपतिय व्यवस्था नै गलत भएको जिकिर गर्नुभयो । नेता थापाले संसद विघटनले संवैधानिक जटिलता ल्याएको भए पनि अबको विकल्प भनेको नयाँ जनादेशमा जाने नै भएको बताउँदै चुनावमा जानु पर्नेमा जोड दिनुभयो ।
भेलामा राप्रपा गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले अबको विकल्प भनेको चुनावमा गएर नयाँ जनादेश लिनु नै भएको बताउनुभयो । राप्रपा नवलपुरको आयोजनामा भएको अगुवा कार्यकर्ता भेला दलबहादुर केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रम गुणाखर काफ्लेको सञ्चालनमा भएको थियो ।
