बुटवल, १ माघ । आज माघे संक्रान्ती अर्थात माघ महिनाको पहिलो दिन । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे संक्रान्ति, तिलुवा संक्रान्ति या मकर संक्रान्ति या माघीका रुपमा आआफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाईने गरिन्छ । प्रत्येक वर्ष सौर मासअनुसार मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, राम्दीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्नुका साथै यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । आजको दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलले मालिस गर्दा सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे संक्रान्ति पर्व हो । मकर संक्रान्तिको अर्को नाम माघे संक्रान्ति हो । माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्ने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । यस्तै मगर समुदायले धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या÷सेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास)का कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ ।