तिलोत्तमा, ४ पुस । खानेपानी संस्थाहरुले उपभोक्तालाई स्वच्छ तथा सफा खानेपानी वितरण गर्नुपर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन् । मानिसको जीवनसंग जोडिएको खानेपानीलाई सर्वशुलभ बनाई सहज रुपमा वितरण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
शँकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा रुपन्देहीको शनिबार सम्पन्न २२ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरी शुद्व खानेपानी वितरण गर्नुपर्नेमा जोड दिएका हुन् । शुद्व, सफा र स्वच्छ खानेपानी उपलब्ध गराउन सकिए मात्र नागरिक स्वस्थ हुने भएकाले खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।
वार्षिक सधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले पछिल्लो समयमा तिलोत्तमामा खानेपानी र सरसफाईको अवस्थामा धेरै सुधार आएको बताउनुभयो । नगर प्रमुख घिमिरेले खानेपानी र सरसफाईमा उचित व्यवस्थापन गर्न सकिए मात्र पालिकाले अगाडी सारेको नाराले सार्थकता पाउने भएकाले आफ्नो सरसफाईमा आफै ध्यान दिनुपर्ने र नगरपालिकाले आवश्यक सहयोग पुराउने प्रतिवद्वता जनाउनुभयो । खानेपानी तथा सरसफाई परियोजनाहरुलाई उचित रुपमा व्यवस्थित गरेर नगरवासीलाई सहज रुपमा सेवाप्रवाह गर्नुको विकल्प नभएको भन्दै उहांले नगर भित्रका अव्यवस्थित र सुकुम्वासीहरुको उचित व्यवस्थापनका लागि नगरपालिकाले लगत संकलनको तयारी गरेको जानकारी गराउनुभयो । आगामी असार मसान्त भित्र अव्यवस्थित र सुकुम्वासीलाई व्यवस्थापनका लागि लगत संकलन इकाई गठन गरिएको समेत जानकारी गराउनुभयो । खानेपानी महासंघ रुपन्देहीका अध्यक्ष धुर्वकुमार धितालले खानेपानीको डिमान चार्ज र कर छुट हुनुपर्ने र उपभोक्तालाई सहज रुपमा शुद्व पानी उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दधिराम गौतम, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लहाकार हरि प्रसाद तिवारी, शँकरनगर सामुदायिक वनका अध्यक्ष राम गिरी, आनन्दवन खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष केशव न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का तिलोत्तमाका नगर अध्यक्ष मोहन चापागाई, नेपाली कांगे्रस तिलोत्तमाका सभापति हरिलाल पाण्डे, राष्ट्रिय जनमोर्चाका दयानिधी पौडेल, जनमुक्ति पार्टीका नगर अध्यक्ष राधिका श्रीस, शँकरनगर दुर्गादत्त माविका प्राचार्य चण्डी पाण्डे, वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्मा , खानेपानी तथा सरसफाई उपभोक्ता महांघका अध्यक्ष ध्रुव धिताल, पार्षद काँशिराम काफ्ले, पार्षद माया अर्याल लगायतले आआफ्ना भनाइ राख्नुभएको थियो । संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता, सचिव कमला ज्ञवालीको सञ्चालन र उपाध्यक्ष डिलबहादुर भट्टराईको स्वागतमा कार्यक्रम भएको थियो । सो अवसरमा संस्थाका निवर्तमान पदाधिकारी, सदस्य, अवकाश प्राप्त कर्मचारीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो भने संस्थाका प्रेस सल्लहाकार स्वर्गीय डायलसन अधिकारीलाई मरणोपरान्त पच्चिस हजार नगद र प्रशंसा पत्र सहित अधिकारीकी धर्मपत्नी चन्दा अधिकारीलाई सम्मान गरिएको थियो ।