बुटवल, १३ असौज
प्रदेश ५ मा कोरोना भाईरस (कोभिड–१९) संक्रमण शुरु भएपछि सावुन पानीले नियमित रुपमा हात धुने वानीमा ५ प्रतिशतले वद्धि भएको छ ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुनु पुर्व प्रदेशमा ८५ प्रतिशतले हात धुने गरेकोमा हाल ९० प्रतिशतले सावुन पानीले नियमित रुपमा हात धुने गरेको तथ्याक मंगलवार प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा बताईएको हो ।
प्रदेश सरकारको सहयोगमा युनिसेफले गरेको सर्वेमा उक्त तथ्याक औल्याईएको हो ।
प्रदेशमा अझै पनि १० प्रतिशत मानिसले नियमित सावुन पानीले हात धुने नगरेको पनि युनिसेफका वास अधिकृत राकेश मलिकले बताउनु भयो । प्रदेश सरकारले मंगलवार देखि प्रदेशमा एक महिना सम्म नियमित हात धुने अभियान संचालन गरेको घोषणा गदै भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले यो अभियानलाई सफलपार्न मिडियाको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
कोरोना संक्रमण आफुलाई लाग्न र अरुलाई सर्नवाट जोगाउन प्रभावकारी स्वास्थ्य सुरक्षाको एक प्रमुख माध्यम सावुन पानीले नियमित हात धुनु नै भएकोले यसलाई सवैले ध्यान दिन र व्यवहारमा लागु गर्न मन्त्री चौधरीले आह्वान गर्नु भयो ।
प्रदेशका ७ हजार मानिसमा गरिएको फोन सर्वे अनुसार कोरोनाको महामारी पछि नियमित रुपमा हात धुनेको प्रतिशत ५ प्रतिशतले बढेको पनि युनिसेफले जनाएको छ । प्रदेश सरकारले गत वर्ष प्रदेशमा खानपानी आयोजनाका लागि ३ अर्ब ८५ करोड रुपैया विनियोजन गरि काम गरेको मन्त्रालयका ईन्जिनियर ध्रुव धितालले बताउनु भयो ।