बुटवल, ५ भदौ । हरितालिका तीज पर्व आज हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाईने यो पर्व आज हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी मनाउदैछन् । अघिल्लो दिन आडिलो, पोषक र शरीरलाई तागत दिने खालका खाद्यान्न (दर) खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।
विगतका बर्षहरुमा तिजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरस (कोभिड–१९)को महामारी र विभिन्न ठाउंमा गरिएको लकडाउन र निषेधाज्ञाका कारण तीजको व्रत बस्ने र नाच गान गरी रमाइलो गर्ने क्रियाकलापमै असर परेको छ ।
बढि भिड जम्मा गरेर नाच गान गर्दा संक्रमणको खतरा हुन सक्ने भएकाले घरमै बसेर तीज मनाउन सरकार तथा स्थानीय पालिकाले महिला दिदीबहिनीहरुलाई आग्रह गरेका छन् । यस्तो विषम परिस्थितिमा ज्यानै जोखिम राखेर व्रत बस्ने, मन्दिर जाने, मान्छे जम्मा गरेर रमाइलो र तामझाम नगर्न आग्रह गरिएको छ । कोरोनाको महामारी, निषेधाज्ञा र लकडाउनका कारण टाढाटाढा रहेका चेलबेटीहरु आफ्नो माइतीघरमा भेला हुन सकेका छैनन् ।
पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तिज जोडिएको पाइन्छ । शिव पुराणमा उल्लेख भएअनुसार पार्वतीको भगवान विष्णुसँग विवाह गर्न खोजिएपछि, पार्वतीलाई उनका साथीहरुले लुकाएर जंगलमा लगेको र पछि त्यहीबाट ब्रतको सुरुवात भएको नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनु भयो । हरितालिका तिजको नामाकरण पनि पार्वतीले बसेको कठोर ब्रतसँग जोडिएको छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
तिजका दिन विवाह भएका महिलाहरुले मात्र नभई अविवाहिता महिलाहरुले सुयोग्य बर प्राप्त होस भन्ने कामनाका साथ ब्रत वस्ने गर्छन् । कति भने मनमा शान्तिका लागि ब्रत बस्ने गर्दछन् ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यसदिन विहानै महिलाहरुले ३ सय ६५ वटा दतिवन चपाउने चलन छ ।
