Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जनै पूर्णिमाको महत्व र प्रचलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनै पूर्णिमाको महत्व र प्रचलन

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७७ · 0
जनै पूर्णिमाको महत्व र प्रचलन
50
SHARES
ShareTweet

टेकराज पन्थी
हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म (सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव नभए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यस पछि जौ, तिल, कुश साथमा लिई अविच्छिन्न वंश परम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद–वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ–आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धति सहित सप्तर्षि मण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) गर्दछन् ।
आज हिन्दुहरूको महान चाडको रूपमा जनै पूर्णिमा अर्थात रक्षाबन्धनको पर्वको रूपमा परापूर्वकाल देखि मनाउदै आएको छ । जनै पुर्णिमाको दिन मुलरुपमा ब्राहृमणहरुद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरुलाई पवित्रताको सुचक धागो बांधेर उनीहरुको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्यहिनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर विभिन्न धर्म ग्रन्थमा उल्लेख भएता पनि, यसलाई विद्वान समाजमा जे जसरी लिउंन तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन, दिदी बैनीले दाजु भाइलाई बोलाएर जनै दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिदै उनीहरुको सु–स्वास्थ, दिर्घायु जीवनको लागि कामना गर्दै आशीर्वाद दिने र विभिन्न थरीका खाने कुरा, ढकने (खिरको परिकार), सेलरोटी, खिचडी जस्ता खानेकुरा आजको दिनमा सबै भन्दा महत्वपूर्ण रहने भएकोले मिठो स्वादमा पकाएर दाजु भाइलाई खान दिने र हाशी खुशी खादै सबैले यो चाड मनाउने गर्दछन् भने आजको दिनमा बुढापाकाले भने आफुले मान्य आफ्ना ज्वाई चेलालाइ बोलाएर ज्वाईबाट हातमा धागो बान्दै जनै फेर्ने र ज्वाईलाई टिका लगाई हातमा फल तथा दक्षिणा दिने चलन छ । हिन्दु धर्मावलम्बी ब्राह्मण बाट शुरु हुने यो चाड हर्ष र उल्लासका साथ आफ्नो संस्कृति र धर्मको पालना गर्दै मनाइदै आइएको छ ।
चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ । खुसीयालीको चाड विशेष गरि विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिली थपेका हुन्छन् । अनि दिदि बहिनी छन् भने आफ्ना दाजूभाइहरूका लागि राखी खरिद गरी राखी बाधीदिने प्रचलन छ । अनि दाजूभाइहरुले भने आफ्नी दिदिबहिनीहरूकालागि के कस्तो उपहार दिने भन्ने तरखर गरेका हुन्छन् । हरेक चाडवाडको आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन हो । ब्राह्मण र क्षेत्रीय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै अर्थात यज्ञोपवित धारण वा ग्रहण गरिन्छ । मन्त्रले जपेको जनै छ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका ६ वटा धागोको डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजको दिनको मन्त्र ः
“येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।
“अर्थात् ः “जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ । “आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात “गुंपुन्हि” भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ । आज विभिन्न गेडागुडी भिजाएर नेवार समुदायमा क्वाटी खाने चलन छ ।
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू–भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लगाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्रमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ । आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, गुल्मीको रेसुङ्गा र रिडीको ऋषिश्वर मठमा, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषासागर, महोत्तरीको जलेश्वरनाथम, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरु लगायत विभिन्न धार्मिक स्थान, मठ, मन्दिर, पवित्रस्थल, नदी किनारमा मेला पनि लाग्दै आएको छ ।
विशेषतः ब्राह्मण, क्षेत्री या अन्यकुनै बैदिकधर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नाडिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकको योग मानिन्छ । परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण वा क्षेत्रीमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक सामथ्र्यको वृद्धि हुने बिश्वास छ । साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आज भोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचित कुण्ठा मात्र हो । यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हेर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भएपनि अध्ययनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।
यो चाडमा गेंडागुडी भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको “क्वाँटी” खाने चलन पनि छ । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई “न्वाँगी” भनिन्छ । देशमा हुनुहुन्छ या विदेशमा हुनुहुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न, तपाई–हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारिक काँचो धागो वा दाजू–भाई, दिदी–बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाड हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस ।
धर्मले संस्कार, अनुशासन, मर्यादा, जिम्मेवारीको पाठ सिकाउने गर्दछ । आजको यस पर्वलाई आफन्तसँग भेटघाट, भाईचाराको विकास, संस्कारको विकास तथा उमंगको समयका रूपमा लिने गरिन्छ । कोरोनाको महामारीले गर्दा यस बर्ष भब्यरूपमा मनाउन सकिने छैन तर सामाजिक परम्परा अनुसार सामाजिकदुरी कायम गरी रक्षाबन्धन पर्व मनाउनु पर्ने अवस्था श्रृजना भएको छ । आजको यस महत्वपूर्ण पर्वको सुअवसरमा सकारात्मक सोच र आत्मियताको विकासका लागि शक्तिप्रदान गर्न सकोस भन्ने आशा एवं विश्वासका साथ सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना छ ।
( लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । )

≪ Previous Post

आज रक्षाबन्धन तथा जनै पूर्णिमा

Next Post ≫

पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि :सेना, प्रहरी र पत्रकार पनि संक्रमित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क