बुटवल, ५ साउन । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गरेको छ । अहिलेसम्म शंकास्पद व्यक्तिको मात्र आरडिटि र पिसिआर परिक्षण भएको थियो ।
समुदाय स्तरमा भएको प्रभावको लागि समुदाय स्तरमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोलि परिचालन भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै अव समुदाय स्तरमा नमुना संकलन गर्न गईरहेको जनाउनु भएको छ । पहिलो चरणमा प्रदेशका ६ जिल्लामा नमुना संकलन गरिने छ । अर्घाखाँची, नवलपरासी, रुपन्देही, वर्दिया, कपिलवस्तु र दाङवाट १२ सय जनाको रेन्डम स्याम्पलिङ विधिवाट नमुना छनोट गरिने मन्त्री वरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अधिक जनसम्पर्क हुने स्थानहरु वित्तिय संस्था, अत्यावश्यक सामाग्री विक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी र सुुरक्षाकर्मीहरुको नमुना संकलन गरी परिक्षण गर्न लागिएको हो । यसले समुदायस्तरमा जोखिमको अवस्थावारे जानकारी हुने र त्यसैको आधारमा महामारी रोकथाम तथा नियन्त्रणको योजना वनाईने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा प्रदेशमा कोभिड–१९ नियन्त्रण उन्मुख रहेको र यो अवस्था आउनुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत सबै जनसमुदायको सहयोग रहेको भन्दै मन्त्री वरालले सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ । प्रदेश नं ५ मा अहिले सम्म ४ हजार ९९ कोभिड पोजेटिभ रहेकोमा ३ हजार ७ सय ७१ जना निको भई घर फर्केको र अझै ३ सय १५ जना अस्पताल तथा ओईसोलेशन सेन्टरमा उपचाररत रहेकाछन् । प्रदेशमा १३ जनाले कोभिड १९का कारण ज्यान गुमाईसकेका छन् ।
