श्यामलाल पोखरेल
बुटवल, २७ असार । मृत्यु भयो भनेर परिवार काजक्रियामा बसेको नौ दिनमा गुल्मीका एकजना पुरुष शनिबार जीवितै भेटिएका छन् । गुल्मी रुरु गाउँपालिका वडा नम्बर ५ का श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जीवितै भेटिएका हुन् ।
श्यामचरण भण्डारीका परिवारले उनको मृत्यु भएको भनेर काजक्रिया बसेको नौ दिनपछि भण्डारी जीवितै भेटिएको छिमेकी मोति पौडेलले जानकारी गराउनु भयो ।
सामान्य विरामी खालका श्यामचरण केही दिन अघि रुपन्देहीको मणिग्रामबाट हराएका थिए । उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने काम भैरहेको अवस्थामा गुल्मी रुरु कै साहाघाट भन्ने ठाउँमा एकजना पुरुषको शव भेटिएको थियो । नौ दिन अघि नाँगो अवस्थामा भेटिएको शवलाई स्थानीयले श्यामचरणको भएको किटानी गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरी श्यामचरणका परिवार काजक्रियामा बसेको श्यामचरणका छिमेकी मोती पौडेलको भनाइ छ । पौडेलका अनुसार गुल्मी रुरु गाउँपालिका ५ बोटे गाउँका स्थायी वासिन्दा श्यामचरणको परिवार हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा बस्दै आएको छ ।
