बुटवल, १ साउन । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने भएकाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ ।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ्र । आजदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणि गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।
साउने संक्रान्तिलाई लुतो फाल्ने सक्रन्तिका रुपमा मनाउने चलन छ । लुतो फाल्ने आ–आफ्नै जनविश्वास रहेको छ । असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । आज बेलुका सांझ परेपछि पैयांको हाँगा, कुरिल्लो आदि राखेर आगोको राँको लाई फाल्ने चलन पनि छ । यस्तै कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आआफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ । लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।
फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।
विवाहीत महिलाहरू आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् । महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रुपमा मनाउँछन् । आजदेखि हिन्दु धर्मका चाडपर्वको लहरसमेत सुरु हुने गर्दछ ।