बुटवल, ३१ असार
बुटवल उपमहानगरपालिका वडा नं. ८ का स्थानिय बासिन्दाहरुले मंगलबार खानेपानी संस्था बुटवलका कार्यालय प्रमुखलाई ख्यार ख्यारती बनाएका छन ।
उनीहरुले सुख्खानगर क्षेत्रमा नियमित रुपमा खानेपानी आउन छाडेकोे र आएपनि धमिलो पानी आउने गरेको गुनासो सहित खानेपानी संस्था बुटवलको कार्यालयमा पुगेर कार्यालय प्रमुख संग आक्रोशित भएका थिए ।
स्थानियहरुले सुख्खानगरमा दिनुपर्ने पानी कर्मचारी र जनप्रतिनिधीको आदेशमा अन्य वडालाई दिएको भन्दै संस्थानका कार्यालय प्रमुख ईन्जिनियर बुद्धरत्न मर्हजनलाई केही समय घेराउ समेत गरेका थिए ।
सुख्खानगरका स्थानिय बासीहरुले तत्काल खानेपानीको समस्या समधान नभए खानेपानी पाईपनै निकाल्दिने चेतावनी समेत दिएका छन् ।
वडाका प्रत्याशि अध्यक्ष राधेश्यामराज भण्डारीले हिउदको समयमा भन्दा पनि बढि खानेपानी समस्या अहिले भएको बताउनु भयो ।
बुटवल–८ मा २ हजार ५ सय घरधुरी छन् ।
सुख्खानगरमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । सुख्खानगर संगै जोडिएको दिपनगरमा भने खानेपानी दैनिक रुपमा आएको भन्दै स्थानियहरुले सवैको मिलेमोतोमा वडा नं. ८ लाई खानेपानी नदिएको गुनासो गरेका थिए ।
एक महिना अघि बुटवलको सडक डिभिजन परिसरमा उपमहानगरपालिकाकै पहलमा बोरिङ गाडिएको थियो । बोरिङ गाडेपछि आएको पानीले सुख्खानगरमा खानेपानीको समस्या टर्ने विश्वास गरेका जनताले सो पानी दिपनगरमा लगेपछि थप आक्रोशित बनेका हुन ।
खानेपानी संस्थाका कार्यालयका प्रमुख ईन्जिनियर बुद्धरत्न महर्जनले बुटवलका अझै एक दुई स्थानमा बोरिङ गाडेर समस्याको समधान गर्ने आश्वासन दिनु भयो ।