बुटवल, १३ असार । सडकमा रोकिराखेको ट्रकमा पिकअप भ्यान (छोटा हात्ती) ठोक्किँदा बुटवलमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी पिकअप भ्यानमा सवार बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुवंर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो ।
बुटवल उपमहानगरपालिका १० रामनगर स्थित पूर्व–पश्चिम राजमार्गमा विग्रेर रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको छोटा हात्ती शुक्रवारराति ठोक्किँदा छोटा हात्तीमा सवार दुईजनाको ज्यान गएको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको छोटा हात्ती ट्रकको पछाडी ठोक्किंदा गुरुङको घटनास्थलमै र कुवंरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
छोटा हात्तीका चालक बुटवल उपमहानगरपालिका ११ प्रगतिनगर बस्ने २५ वर्षीय गोपाल दंगाल सामान्य घाइते भएका छन् । पूर्वतर्फ जाँदै गरेको ट्रक बिग्रिएर वडा प्रहरी कार्यालय रामनगर बुटवलदेखि २०० मिटर पुर्व मर्मतका लागि सडकमै रोकेर राखेको अवस्थामा सो दुर्घटना भएको हो । ट्रक, ट्रक चालक र छोटा हात्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।