बुटवल ११, असार जनअधिकार नेपाल रुपन्देहीले एमसीसीको विरोध गरेको छ । रुपन्देहीको सैनामैनामा आयोजित कार्यक्रममा नेपाल र अमेरिका बीच सम्झौता भएको एमसीसी परियोजना हिन्द प्रशान्त रणनीति आइपीएससँग सम्बन्धित भएको बताएको छ ।
विरोध कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले एमसीसीको धारा ३ दफा ३–२ (च) मा सम्पूर्ण बौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार रहने, दफा ४ को ८ (क) मा परियोजनाको लेखा परिक्षण अमेरिकाको कम्पनीले मात्र गर्ने, धारा ५ को (क र ख) मा अमेरिकी सरकारले चाहेमा सम्झौता जुनसुकै बेला रद्द गर्ने सक्ने, धारा ७ को दफा ७ (क) मा सम्झौता लागु भएपछि कानुन बाँझिएमा नेपालको कानुन स्वतः खारेज हुने, नेपाल सरकारले राज्यको कुनै पनि निकायलाई खटाउनु पर्दा एमसीसीको स्वीकृति लिनुपर्ने र नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार गर्दा भारतको समर्थन लिनुपर्ने जस्ता राष्ट्रघाती बुँदा रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताउनु भयो । उनले यो सम्झौता सैन्य रणनीतिसँग सम्बन्धित भएकोले यो सम्झौता महाकाली सम्झौताको अर्को राष्ट्रघाती शृङ्खला हुने समेत बताउनु भयो ।
कार्यक्रममा नेकपा मालेका केन्द्रीय सल्लाहकार मनिराम वन, राष्ट्रिय जनमोर्चाको नेता जागेश्वर रेग्मी लगायतले एमसीसी सम्झौता कुनै पनि हालतमा संसदबाट पास गर्न दिन नहुने भन्दै यसले देशको स्वाधीनता र सार्वभौमिकतामाथि गम्भीर हप्तक्षेप हुने बताएका छन ।
कार्यक्रमको अध्यक्षता जनअधिकार नेपाल रुपन्देहीका अध्यक्ष रेशम चालिसको अध्यक्षता र संचालन शिक्षक एवं बुद्धिजीवी केशवराज अर्यालले गर्नु एको थियो ।
