बुटवल, ४ असार । तिलोत्तमा नगरपालिका शिवपुरकी बलात्कृत ८ बर्षीय वालिकालाई बैदेशिक रोजगारीमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । जेठ २४ गते उनीमाथि विभत्स तरिकाले बलात्कार भएको थियो ।
स्थानीय १४ वर्षियाले उनको मुखमा टेप लगाई बलात्कार गरी यौनाङ्गमा कोदालोको बिड राखिदिएका थिए । सो घटनाबाट यौनाङ्ग र मलद्वारमा गम्भिर क्षति भएकी बालिका अहिले बुटवलस्थित कदम नेपालको सेफ हाउसमा रहेकी छन् ।
उनलाई मकाउमा रहेका भोजपुरका मन्दिप रसाइली लगायतका युवाहरुले पत्रकार लक्ष्मण पोखरेलमार्फत राहत पठाएका छन् । सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा पीडित वालिकालाई नगद २५ हजार पठाइएको मकाउमा रहेका युवा रसाइलीले बताए ।
पत्रकार पोखरेलले प्रदेशसभा सदस्य थानकुमारी थापाको हातबाट पीडित परिवारमा राहत पुराएका हुन् । सो अबसरमा बोल्दै सांसद थापाले बलात्कार जस्ता जघन्य अपराधका घटना अन्त्यका लागि समुदाय नै सचेत बन्न आवश्यक रहेको बताउनुभयो । विद्यालय तहबाटै यस्ता घटनाको सचेतना बढाउदा हिंसाका घटना कम हुने उहांको भनाइ छ । छोरीलाई मात्रै होइन, छोराहरुलाई पनि यस विषयमा सचेत बनाउन आवश्यक छ, भन्दै सभासद थापाले प्रदेशसभा बैठकमा यस विषयमा आफूहरुले सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो ।
पीडित वालिकाको परिवार बिपन्न रहेको छ । उनका बुवाले अर्की विहे गरेर टाढिएका छन् भने आमा डिप्रेसन बिरामीका कारण समस्यामा छिन् । दुई दिदी र एक भाई रहेको उनको परिवारमा दैनिक छाक टार्न समेत कठिन रहेको छ ।
बलात्कृतपछि बालिकाको उपचार भइरहेको छ । मलद्वार च्यातिएका कारण डाक्टरहरुले कोखबाट दिसा निकाल्ने उपाय अबलम्बन गरेका छन् । कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यका अनुसार उनको केही दिनपछि अप्रेसन गर्ने तयारी भैरहेको छ । पीडित बालिका १३ बर्षीय आफ्नी दिदी संगै सेफहाउसमा रहेकी छन् ।
उनका दिदीभाई कसैले पनि पढ्दैनन् । दिदीले कक्षा ३ पढ्दापढ्दै छाडेकी हुन भने पीडित बालिका कक्षा १ मा पढ्दै गर्दा छाडेकी हुन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १० को झुपडी घरमा उनीहरुले रात काट्दै आएका छन् ।
मकाउका युवाले पठाएको आर्थिक सहयोग पीडित बालिकाको नाममा बैंक खाता खोली बैंकमा जम्मा गरिएको कदम नेपालकी अध्यक्ष आचार्यले बताउनु भयो ।
