रामकुमार श्रेष्ठ
नवलपरासी, १९ जेष्ठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ शितल चोकमा ८२ बर्षीय महिला जसुदा अधिकारीको हत्या भएको ठहर गर्दै प्रहरीले घटनामा सम्लग्नलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार जसुदा अधिकारीको हत्यामा सम्लग्न रहेको आशंकामा प्रहरीले उनकी बुहारी ४० बर्षीय निरा खत्री अधिकारीलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
मृतकका छोरा अर्थात प्रहरी नियन्त्रणमा रहेकी निरा खत्री अधिकारीका श्रीमान् चन्द्रकान्त अधिकारीले आफ्नी आमाको आफ्नै श्रीमतीद्वारा हत्या भएको भन्दै किटानी जाहेरी दिएको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । प्रहरीले निरा खत्री अधिकारीलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको जनाएको छ ।
शुक्रबार राति उनको हत्या भएको भएपनि घटनालाई लुकाउन घटनाका आरोपित महिला निरा खत्री अधिकारीले सासु जसुदा अधिकारी ट्वाइलेट जाने क्रममा अचानक लडी घाइते भएको भन्दै उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याएकी थिइन् । अस्पताल नपुग्दै उनको मृत्यु भएको अस्पतालले जनाएको थियो ।
पोष्टमाटर्मका क्रममा टाउकोमा चोट लागि मृत्यु भएको रिपोर्ट आएको र घटना शंकास्पद भएको भन्दै यथार्थ छानविनको माग गर्दै शनिबार दिनभर मृतकका घर अगाडी स्थानीय र मृतकका आफन्तले शव उठाउन दिएका थिएनन् ।
प्रहरीले आइतबार बुहारी निरा खत्री अधिकारी विरुद्ध नवलपुर जिल्ला अदालतमा कर्तव्य ज्यादमा मुद्दा चलाई आवश्यक अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खाँणले बताउनुभयो ।
प्रहरीले घटना स्थलको प्रकृति, मृतकको अवस्था, निजको शरिर र टाउकोमा लागेको घाउ चोटपटकको प्रकृति अध्ययन गर्दा मृतकको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ ।
मृतकको शव शनिबार नै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको भए पनि घटना शंकास्पद भएको भन्दै स्थानीयले शव उठाउन दिएका थिएनन् ।
