बुटवल, १० जेठ । बुटवल धागो कारखाना स्थित बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचारत १० जना कोरोना संक्रमित बिरामीहरु उपचार पछि निको भएर घर फर्किएका छन् ।
कारोना संक्रमण पुष्टि भएपछि दुई हप्ता अघि कोरोना अस्पतालको आइसोलेशनमा भर्ना भएका बिरामीहरू निको भएर आज(शनिवार) घर फर्किएका हुन् । निको भएर घर फर्किने सबै कपिलवस्तु जिल्लाका भएको अस्पतालले जनाएको छ ।
दुई हप्ताको उपचार पछि दुई पटक गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालवाट डिस्चार्ज गरी बिदाई गरिएको बुुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिनुभयो । यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा पनि कोरोना लाई जितेर घर गइसकेको छन् ।
धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा रुपन्देही र कपिलवस्तुका गरी ३६ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको थियो ।
यस्तै प्रदेश नं ५ को बाँकेको खजुरास्थित सुुशिल कोईराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जना कोरोनो संक्रमित निको भएर घर फर्किएका थिए ।
२ सय ७१ जना कोरोना संक्रमित रहेको प्रदेश ५ मा ३२ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि बुटवल धागो कारखाना स्थित कोरोना बिशेष (अस्थायी) अस्पतालमा २ सय बेड थप गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ ।
