बुटवल, २२ बैशाख । प्रदेश नं ५ मा नेपाली काँग्रेसका सांसद वसिउद्दिन खाँले कोरोना भाइरस रोकथामका लागि दक्षिणी सिमानाकाहरुमा विशेष निगरानी बढाउनका साथै त्यस क्षेत्रमा आवश्यक स्वास्थ्य सामाग्री र परिक्षणलाई तिव्रता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शुक्रवार रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाईका २७ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद खाँले प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाउदै सिमाक्षेत्रमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य तथा सुरक्षा सामाग्रीको व्यवस्था मिलाउनुका साथै कम्तिमा १ करोडको विमाको व्यवस्था गर्न माग गर्नु भएको छ ।
सांसद खाँले अहिलेको समय खेतीपातीको समय भएकोले कृषकलाई आवश्यक पर्ने धानको विउ र मलको व्यवस्थापन समयमै गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने सामग्री पठाउने र विउ र मलको व्यवस्थापन छिट्टै गर्ने आश्वासन दिएको सांसद खाँले जानकारी दिनुभयो ।
